रामेछाप । रामेछाप स्थित गोकुलगंगा गाउँपालिका -४, वेतालीका मेरमान वि.क.को सामान्य झगडापछि भएको कुटपिटबाट मृत्यु भएको छ । स्थानीय साङ्तेन्जी शेर्पासँग झगडा हुँदा उनको कुटपिट पछि वि.क. को उपचारको क्रममा मृत्यु भएको दलित समाज उत्थान समिति रामेछपका अध्यक्षले जनाएका छन् ।
निज साङ्तेन्जी शेर्पालाई जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीमा राखिएको छ ।
गोकुलगंगा -०४ वेताली निवासी मेरमान वि.क. विपन्न परिवारका थिए । उनको परिवारमा ४ छोरा, २ छोरी र श्रीमतिसँग पुर्ख्यौली पेशाले जिविका चलाउँदै आएका थिए । आफ्नो अंशमा परेको १ गरा जग्गामा सानो झुपडी बनाएर बसेका मेरमान साङ्तेन्जी शेर्पासँग भएको विवाद पछि मृत्यु भएपछि जो होचो उसकै मुखमा घोचो भन्ने उखान सावित हुन पुगेको छ ।
त्यति मात्र कहाँ होर, उनको परिवारको जिविका चलाउने भएको एक गरा बारी र झुपडी भएको ठाउँबाट खिम्ती-गर्जाङ् सडक बन्ने भएपछि, पुर्ख्यौली थलो गोकुलगंगा -०४ बेताली छोडेर गोकुलगंगा -०३ बिरौटास्थित साझेबारी कमाउँदै आएका थिए । त्यहीँ साझेबारी कमाउने र बस्ने क्रममा छिमेकी शेर्पासँग भएको झगडाले कुटपिट सम्मको स्थितिमा पुग्यो र उपचारकै क्रममा उनको पुस २८ गते शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा मृत्यु भयो ।
काजक्रिया गर्दै मेरमानका परिवार
पीडित मृतकका परिवारलाई अहिलेसम्म कुनै पनि निकायबाट सहयोग तथा क्षतिपूर्ति दिलाउने काम नभएको दलित उत्थान समाज रामेछापले जनाएको छ । तसर्थ, मानवीयताको नाताले सहयोगी मनहरुलाई सहयोग गरिदिनु हुन दलित उत्थान समाज रामेछापले आह्वान गरेको छ ।
रामेछाप जिल्ला अदालतमा सो घटनाको रिट दर्ता भएपछि छानबिनको लागि शेर्पालाई जिल्ला प्रहरी कार्यालयले निगरानीमा राखेको छ। मृतकका छोराहरु परम्परा अनुसार काजक्रिया सकेपछि सो घटनाको सम्बन्धीत निकायमा न्याका लागि अघि बढ्ने मृतकका भिनाजुले बताएका छन् ।

