तीन सिजन दिल्लीबाट आइपिएल खेलेका युवा क्रिकेटर सन्दिप लामिछानेलाई दिल्ली रिलिज गरेको छ । उनले अब नयाँ सिजनको आइपिएलका लागि अक्सनबाट छानिनु पर्ने हुन्छ । 

लामिछाने सन् २०१८ मा पहिलो पटक दिल्ली क्यापिटलमा २० लाख भारुमा आवद्ध भएका थिए। त्यस सिजनमा लेग स्पिनर सन्दीप लामिछानेले तीन खेलमा मौका पाएका थिए। सन् २०१९ को सिजन भने सन्दीपले ६ खेल खेलेका थिए ।

कोरोना भाइरसको कारण दुवईमा भएको सन् २०२० को आइपिएलमा उनले टिममा स्थान बनाउन नसक्दा यस पटक दिल्ली उनलाई रिलिज गरेको छ । दुई सिजनमा ९ खेल खेलेका १३ विकेट लिएका थिए । अब लामिछानेले नयाँ सिजनको आइपिएल टिममा स्थान बनाउन अक्सनबाट छानिनुपर्ने हुन्छ।

नयाँ सिजनको अक्सन हुनु अगाडी दिल्लीले लामिछानेलाई फुकुवा गरेको हो । नयाँ सिजनका लागि आगामी फेब्रुअरी ११ मा अक्सन हुने सम्भावना छ। दिल्ली क्यापिटलले लामिछानेसहित तुसार देशपाण्डे, मोहित शर्मा, जासन रोए , एलेक्स क्यारी र किमो पाउललाई पनि रिलिज गरेको छ।