काठमाडौं। इङ्गल्याण्डको चर्चित लिग इङ्लिस प्रिमियर लिगको उपाधी म्यानचेस्टर सिटीले जितेको छ। अन्तिम र निर्णायक खेलमा सिटीले एस्टोनभिल्लालाई ३-२ ले हराउँदै जित निकाल्दै उपाधि जितेको हो। 

म्यानचेस्टर सिटीले एस्टोनभिलासँग २-० ले पछि परेको अवस्था उल्टाउँदै खेल जितेको हो। स्टोनभिल्लाका लागि म्याटी क्यासले पहिलो हाफको ३७ औँ मिनेटमा सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए। भने दोस्रो हाफको ६९ औँ मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै एस्टोनभिल्लाको अग्रतालाई दोब्बर बनाएका थिए।

दुई गोलले पछि परेर दबाबमा रहेको सिटीका लागि इल्के गुण्डुगान मैदान छिर्न साथ खेलको ७६ औँ मिनेटमा गोल गर्दै सिटीलाई खेलमा फर्काए, त्यसको दुई मिनेट नबित्दै रोड्रिगोले ७८ औँ मिनेटमा व्यक्तिगत गोल गर्दा सिटी २-२ को बराबरीको स्थितिमा पुग्यो । खेलको ८१ औँ मिनेटमा इल्के गुण्डुगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई यस सिजनको लिगको उपाधी पक्का गरे भने समग्रमा खेल सिटीले ३-२ ले जित्यो।

लिगको सबै खेलमा समाप्त हुँदा सिटीले ९३ अङ्क बटुल्दै शीर्ष स्थानमा रह्यो भने दोस्रो स्थानको लिभरपुलले अन्तिम खेल जितेसँगै ९२ अङ्क बटुले पनि लिग जित्न सकेन।