उदयपुर । उदयपुरको ताप्लि गाउँपालिका वडा नं. ४ (साविक ठानागाउँ गाविस वडा नं. २)का थुप्रीमाया सुनुवारले १०९ वर्षको उमेरमा नागरिकता पाएकी छन् । जेष्ठ नागरिक सुनुवारलाई इलाका प्रशासन कार्यालय काटारीले गत माघ ४ गते नेपाली नागरिकता प्रदान गरेको हो ।
जेष्ठ नागरिक सुनुवारले २०३४/३५ साल तिर जिल्ला प्रशासन कार्यालयले त्यतिबेला दिने गरेको अस्थायी निस्साले प्रशासनिक कामहरूमा प्रयोग गर्दै आएकाले नागरिकता नबनाएको बुझिएको छ । सामाजिक सुरक्षाभत्ता समेत उनले अस्थायी निस्साबाट पाउने गरेका थिए । तर केहि समयअघि उनको अस्थायी निस्सा हराएपछि नागरिकता लिनै पर्ने चटाराे बढेको थियो । सामाजिक सुरक्षा भत्ता बुझ्न अनिवार्य नागरिकता खोज्न थालिएको कारण पनि नागरिकता बनाउनै पर्ने भएपछि इलाका प्रशासन कार्यालय कटारीमा प्रक्रिया थालेको जेष्ठ नागरिक बताउनु हुन्छ ।
यता नागरिकता प्रतिलिपीका लागि आवश्यक कागजात तयार गरेर इलाका प्रशासन कार्यालय कटारीमा निवेदन दिएका जेष्ठ नागरिक सुनुवारलाई प्रशासनले अहिलेसम्म नागरिकता नबनाउनुको कारण र लिखत खोजेकाले नागरिकता लिने प्रक्रियामा असहज भएको जेष्ठ नागरिक सुनुवारले सुनाउ भयो ।
इलाका प्रशासन कटारीले निज जेष्ठ नागरिकलाई नागरिकता प्रदा गर्नैपर्ने भएपछि थप प्रमाण जुटाउन र यथेष्ट प्रमाणसहित नागरिकता दिन इलाका प्रहरी कार्यालय कटारीलाई जाँच बुझ गरी स्थलगत सर्जिमिनसहितको मुचुल्का तयारी गराउन पत्राचार गरेको र सोहि बमोजिम इलाका प्रहरी कार्यालयबाट खटिइएका टोली जेष्ठ नागरिक सुनुवारको बसोबास भएकै स्थानमा पुगेर स्थानीय बुद्धिजीवीहरूसमेतको रोहबरमा सर्जिमिन तयार गरेर पेश भएपछि नागरिकता प्रदान गर्ने आधार बनेकाले निज जेष्ठ नागरिकलाई नागरिकता दिन सफल भएको इलाका प्रशासन कार्यालयका शाखा अधिकृत सुनिल पौडेलले जानकारी दिनुभयो ।
साथै, इलाका प्रशासन कटारीले निज जेष्ठ नागरिक सुनुवारलाई नेपालकै जीवित जेष्ठ नागरिक भएको समेत दाबी गरेको छ ।

