सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले व्यक्तिगत घटना दर्ता किताब डिजिटाइजेसकनको अनलाइनमा दर्ता कार्य सम्पन्न गरेको छ। प्रविधिको विकाससँगै कमलामाई नगरपालिकाले राष्ट्रिय परिचयपत्र तथा पञ्चिकरण विभागको अनलाइन प्रमाणलीमा पुराना व्यक्तिगत घटनाहरुलाई डिजिटाइजेशन गर्ने कार्य सम्पन्न गरेको हो ।
सोमबार एक कार्यक्रमकाबीच पुराना व्यक्तिगत घटनाहरुलाई विभागको प्रणालीमा प्रविष्ट गरी देशको उत्कृष्ट स्थानीय तहहरू मध्ये कमलामाई नगरपालिका पनि पर्न सफल भएकोमा नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीले धन्यवाद दिँदै नगरपालिकाले नमूनायोग्य उत्कृष्ट काम गरेको बताउनुभएको छ । साथै आगामी दिनमा व्यक्तिगत घटना दर्ता प्रणाली अनलाइनबाटै हुने र हराएका आफ्ना व्यक्तिगत घटनाको विवरणहरूसमेत सहज रुपमा पाउने बताउनु भएको छ ।
नगरपालिकामा यस अघि ७९ हजार ०७७ व्यक्तिगत घटना जन्म, मृत्यु, विवाह, बसाईसराई र सम्बन्ध बिच्छेद जस्ता विवरणहरुलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले व्यवस्था गरेको अनलाइन प्रणालीमा प्रविष्ट गरिएको छ । त्यस्तै नगरपालिकाले छिट्टै घटना दर्ताको विवरण खोजको लागी, महत्वपूर्ण घटनाहरु पहुचमा सुधार गर्न, संस्थागत मेमोरीको लागी र हालसम्म भएका घटना दर्ताको महत्वपूर्ण अभिलेखहरूको रेकर्ड राख्ने लगायतका कार्यहरू थालनी गर्ने भएको छ

