रामेछाप । गोकुलगंगा गाउँपालिकाको आठौँ गाउँ सभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ । गाउँपालिकाले पुस २७ गते आईतबार गाउँसभा सम्पन्न गरेको हो ।
सभामा सबै वडाका वडाअध्यक्षज्यूहरुले आ-आफ्नो वडाका कार्य तथा प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो । वडा नं. १ का वडाअध्यक्ष मनि कुमार लामाले योजनाका सबै काम समापन भएको र वडा नं. १ पर्यटकिय क्षेत्रका लागी उत्कृष्ट रहेको बताए । यसैगरी वडानं. २ का अध्यक्ष शेखरमान श्रेष्ठले आफ्नो वडा आलुजोनको लागी अति उपयुक्त रहेकोले सोहि अनुसार पूर्वाधार तयार गर्ने जनाएका छन् । वडाकै प्रतिवेदन् प्रस्तुत गर्ने क्रममा ३ नं. वडाका अध्यक्ष नरबिक्रम कार्कीले विकास योजनाको काम तिव्रताको साथ अघाडी बढेको भन्दै धार्मिक स्थलको काम सम्पन्न हुनबाँकी रहेको र सिचाईको सम्झौता सम्बन्धमा प्रमुख प्रशासकिय र गाउँपालिका अध्यक्षको ध्यानाकार्षण गराएका छन् । अध्यक्ष कार्कीले आफ्नो वडामा कृषि पूर्वाधारमा अतिनै ढिलासुस्ती भएको कुरा प्रतिवेदन मार्फत प्रस्तुत गरेका थिए ।
त्यस्तै वडा नं. ५ का वडाअध्यक्षले आफ्नो वडाका बिषयमा सबै योजनाका काम सफलता पूर्वक सम्पन्न भएको कुरा जनाएका छन् । वडा नं. ६ का वडाअध्यक्ष चन्द्र सुनुवारले विकासका योजनाको काम क्रमिक रुपमा संचालन भईरहेको भन्दै गाँउपालिकाले सिद्धार्थ बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा कतिपय । वृद्धबृद्धा तथा अपाङ्ग जनताले धेरै सास्ती खेप्नुपरेको गुनासो रहेको जनाएका छन् ।
पालिका अध्यक्ष खड्ग बहादुर सुनुवारले सभाभालाई सम्बोधन गर्दै स्थानीय सरकार र त्यहाँ निर्वचित जनप्रतिनिधि नै पहिलो जनप्रतिनिधि रहेको र आम जनताको दैनिकसँगै जनस्तरको विकासमा गाउँपालिका होमिएको बताए । उनले गाउँपालिकाले चालु आर्थिक वर्षको ६० प्रतिशत विकास तथा अनुदानका कामहरु सम्पन्न भएको जनाएका छन् । विगत केही महिना विश्वव्यापी महामारी कोभिड १९ मा देश बाहिर विभिन्न ठाउँबाट आएका पालिकाबासीलाई सुरक्षीत क्वारेनटाईनमा राखी करिब ३०० जनालाई खाना बस्नको ब्यवस्था गरी पिसिआर परिक्षण गरी सुरक्षित तवरले आ-आफ्नो घरमा पठाईएको सभामा प्रस्ट पारे ।
पालिकाको प्रगती विवरणमा उल्लेख गर्दै सुनुवारले शिक्षा क्षेत्रलाईपनि अझ प्रबल बनाउन गाँउपालिकाका ७ वटा मा.बि.मा आईटि प्रशिक्षकको ब्यवस्था गर्ने, र अमिन तथा आईटि पढन चाहाने विद्ययार्थीलाई छात्रबृत्तीको ब्यवस्था हुने बताए । पालिकाको आर्थिक समृद्धीको लागी पर्यटन विकासलाई प्राथमिकता दिईएको बताए ।
पालिकाको आन्तरिक स्रोत पर्यटन, कृषि हाईड्रोपावर तथा आर्गनिक थोकहरु नै भएकोले यसैबाट समृद्ध गाँउपालिका बनाउन सकिने विश्वास रहेको बताएका छन् । पूर्वाधार विकास हाम्रै आँखा अगाडी हाम्रै जनसहभागीतामा ४०० किलोमिटर पुर्वधार सडकहरु बनिसकेको ७ वटा आरसिसि पुलको निर्माण गर्ने योजना अघि बढेकोले र यसको संरक्षण र सदुपयोग गर्ने जिम्मेवारी गाउँपालिका बासीको नै रहेको प्रष्ट पारेका छन् ।
यसैबीच गाँउपालिका परिसरमा वस्ती ब्यवस्थापन रिङरोटको संरचना बनाइसकेको र खेल पूर्वाधारका लागि छ वटा खेलमैदानहरु क्रमागत रुपमा निर्माण भएको र ५० रोपनी जग्गामा हरेक वडामा उस्तै किसिमका नक्सा र डिजाइनमा वडा भवन तयार गरिने योजना चरणगत रुपमा अघिबढेको बताए ।
चालु आर्थिक वर्षमा १७०० वटा खानेपानी धारा निर्माण गर्ने र एक घर एक धारा भन्ने नारा लाई साकार पार्नको लागी बोलपत्र आह्वान भईसकेकोले छिट्टै उक्त परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । गाँउपालिकाले आम सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरी प्राणघातक रोग लागेका बिरामीहरूलाई उपचारको लागि पञ्चीस हजार रुपैयाँ र गरिबीको रेखामुनी रहेका बिरामीलाई एक लाख रुपैयाँ सहयोग स्वरुप दिने व्यवस्था गरिएको बताए ।
गाँउपालिका न्यायायिक समितीको पहलमा १ सय २० वटा मुद्दा मध्ये ७० वटा मुद्दा फैसला गाउँपालिकाबाटै गरिएको बताए । अध्यक्ष सुनुवारले उद्योग क्षेत्रमा बिभिन्न ४० भन्दा बढि उधोगहरू प्रोमोट गर्ने तयारीमा रहेको र विकासका योजनालाइ सबै को तर्फबाट मध्यनजर गरीए पक्कैपनि समृद्ध सुखि र समुन्नत गाँउपालिका बन्नेमा दुईमत नरेको बताए
गाँउपालिकाको कार्यशाला भवनमा सम्पन्न भएको आठौं गाँउसभामा गाउँपालिकाका प्रतिनिधी, पालिका सदस्यहरु, वडापालिकाका प्रतिनिधीहरु,वडा सदस्यहरु मिडीयाकर्मीहरु र पत्रकारहरुको उल्लेखनिय उपस्थिती थियो । कार्यक्रममा गत अर्धवार्षिक अवधिमा भएका हुदैगरेका र हुन बाँकि बिकास योजनाको गतिविधीहरु प्रस्तुत गरिएका थिए ।

