काठमाडौं। जिम्बावे ‘ए’ विरुद्धको टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए  टोलीले १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

जिम्बावेको जितमा तडिवानाशे मारुमानीले सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै कप्तान टोनी मुनयोङ्गाले ५० रन जोडे भने इनोसेन्ट कैयाले ४७ रन बनाए । 

नेपालका बसिर अहमदले २ तथा कप्तान सन्दीप लामिछाने र करण केसीले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । नेपालका लागि आदिल अन्सारीले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए । उनले २७ बलमा चार चौका र तीन छक्कासहित ४७ रनको योगदान दिएका हुन्।

त्यस्तै कुशल भुर्तेलले ४६ रन जोड्दा रोहित पौडेलले ३९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए भने आसिफ शेख ९ रनमा आउट भए। आरिफ शेख २ रनमा आउट भए भने करण केसी ४ रनमा अविजित रहे । बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, बे्रन्डन मभुता र जोन मसराले समान १/१ विकेट लिए ।