मनिला, सिन्ह्वा। फिलिपिन्समा हुन लागेको राष्ट्रिय तथा स्थानीय निर्वाचन अन्तिम चरणमा पुगेको छ ।   

मतदान गर्ने दिन आउन १० दिन बाँकी रहँदा उम्मेदवारहरूलाई प्रचार प्रसारलाई तिव्रता दिइरहेको पाइएको छ । 

हरेक छ / छ वर्षमा हुने निर्वाचन भएकाले अहिले कोरोना भाइरसको महामारीको खतरालाई समेत प्रवाह नगरी नेता कार्यकर्ताहरू चुनावी अभियानमा लागेका छन् । 

उनीहरूले चुनावी भाषणसँगै नाच गान मार्फत पनि आफ्ना सन्देश तथा चुनावी एजेण्डाहरू प्रस्तुत गर्ने गरेका छन् ।

चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवारहरूले आफ्ना प्रतिस्पर्धीहरूको खरो आलोचना गर्दै आफ्नो पक्षलाई राम्रो देखाउने प्रयास गरेका छन् ।

उनीहरूले चुनाव प्रसार प्रसारका लागि एकातिर सामाजिक सञ्जालको अधिकतम प्रयोग गरेका छन् भने अर्को तर्फ घरदैलो कार्यक्रम मार्फत मतदाताहरूलाई भेट्ने र भोट माग्ने पनि गरेका छन् । 

भोट माग्ने काममा कलाकार तथा विभिन्न क्षेत्रमा चर्चित व्यक्तित्वहरू समेत सक्रिय भएको पाइएको छ ।   

सबै उम्मेदवारहरूले महामारीका कारण थला परेको अर्थतन्त्रलाई उठाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी घटाउने, महङ्गी कम गराउने लगायतका विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । 

फिलिपिन्समा आगामी मे ९ तारिखमा मतदान हुन लागेको छ । निर्वाचन मार्फत नयाँ राष्ट्रपति, उपराष्ट्रपति, २४ मध्ये १२ सिनेट सदस्य र प्रतिनिधि सभा सदस्यहरू चयन हुनेछन् ।  निर्वाचन आयोगले हजारौँ अन्य स्थानीय जनप्रतिनिधिहरू समेत चयनका लागि निर्वाचन हुन लागेको जनाएको छ । 

विभिन्न सर्वेक्षणहरूले पूर्व राष्ट्रपति फेर्डिनान्ड मारकोसका ६४ बर्षका छोरा फेर्डिनान्ड मारकोस जुनियर अगाडि रहेको देखाएका छन् ।