काठमाडौं । आजबाट सुरु भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ६३ रनले हराएको छ ।

टियु क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा कर्णाली प्रदेशले १ सय १६ रनको विजय लक्ष्य पाएको थियो । आर्मीको १९.१ ओभरमा अलआउट भएको थियो ।

सामान्य विजय लक्ष्य पाए पनि कर्णाली प्रदेशको दुई जना बाहेक अरुले दोहोरो अंक जोड्न नसक्दा १४.४ ओभरमा अलआउट हुँदै जम्मा ५३ रन मात्र जोड्न सक्यो ।

आर्मीको जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिँदा सुसान भारी र सहव आलमले समान २-२ विकेट लिन सफल भए । त्यस्तै सोमपाल कामी र विक्रम सोवले १-१ विकेट लिन भ्याए ।

कर्णालीको प्रकाश जैसीको नाममा ३ विकेट रह्यो भने अनुज चुनाराले २ विकेट तथा दिनेश अधकारी, रविन्द्र शाही र राज शाहले समान १-१ विकेट लिए ।

त्यस्तै समूह 'ए' कै अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको छ ।

सुदूरपश्चिमका आदित्य महता र नारायण जोशीले समान ३-३ विकेट र शेर मल्लले २ विकेट लिएपछि पुलिसले जम्मा ९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

अति सामान्य लक्ष्य पाएको सुदूरपश्चिम प्रदेशले मुलपानी मैदानमा महत्वपूर्ण अंक जोड्न सकेन । पुलिसका आरिफ सेखले सर्वाधिक ४ विकेट तथा करन केसी, दिपेन्द्र सिंह ऐरी र पवन सर्फले समान १-१ विकेट लिँदा २० ओभरमा ९१ रनमात्र जोड्न सफल रह्यो ।

प्रधानमन्त्री कपको पहिलो खेलमा दुई विभागीय टिमले महत्वपूर्ण २-२ अंक जोड्न सफल भएको छ ।

आजै दिउँसो समूह 'बि' को दुई खेल हुनेछ । जसमा विभागीय टोली एपिएफ र प्रदेश २ तथा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।