काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनौट अन्तर्गत कुवेतलाई हराउँदै शीर्ष स्थानमा उक्लेको छ। आज (बिहिबार) दुबईमा सम्पन्न खेलमा नेपालले कुवेतलाई ९ विकेटले हराएको हो।

टस जितेर ब्याटिङ् रोजेको कुवेतलाई नेपाली बलहरूले १५.४ ओभरमा २७ रनमा समेट्यो। नेपाली बलरसामु कुवेतका ओपनर ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बाहेक अरु खेलाडीले दोहोरो अङ्क स्कोर गर्न सकेनन्। कुवेतलाई सस्तैमा समेट्न नेपालका स्पिनर संगिता राईले २.४ ओभरमा २ मेडन सहित विना रन ३ विकेट लिइन्। स्पिनर करुणा भण्डारीले ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् भने रुविना क्षेत्रीले ३ ओभरमा २ मेडन सहित १ रन खर्चेर २ विकेट लिइन्। सरस्वती कुमारीको नाममा १ विकेट रह्यो।

कुवेतले दिएको २८ रनको सामान्य विजयी लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेटको क्षतीमा भेट्टयो। ओपनर सीता राना मगर शून्यमा आउट हुँदा कप्तान रुविना क्षेत्री बेलबासे १० बलमा १ चौकासहित १२ रनमा अविजित रहिन् भने इन्दु बर्मा ८ बलमा १ चौका सहित १३ रनमा अविजित रहँदा खेल नेपालले ९ विकेट जित्यो।

यस अघिको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ भने भुटानलाई ८ विकेटले जितेको छ। नेपालले छनौट चरण अन्तर्गत खेलेको ३ खेलमा २ जितसहित अङ्क तालिकाको शीर्ष स्थानमा छ। भने एक खेल कम खेलेको हङकङ ४ अङ्क जोडेपनि रन रेटको आधारमा दोस्रो स्थानमा छ।