एजेन्सी। टि-२० विश्वकप क्रिकेट २०२१ को उपाधी अष्ट्रेलियाले जितेको छ। आईतबार साँझ दुबईस्थित दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाम सम्पन्न फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक उपाधि जितेको हो।

टस जितेर फिल्डिङ रोजेको अष्ट्रेलियाले जितको लागि १ सय ७३ रनको लक्ष्य पाएकोमा अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै उक्त लक्ष्य भेटाउँदा उपाधी जितेको हो। अष्ट्रेलियाको जितमा मिचेल मार्श नायक बन्दा उनले ५० बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रनमा अविजित रहँदा ओपनर डेविड वार्नरले ५३ रनको योगदान गरे भने ग्लेन म्याक्सवेल १८ बलमा ४ चौका र १ छक्का सहित २८ रनमा अविजित रहे। खेलको शुरुवाति तेस्रो ओभरको तेस्रो बलमा अष्ट्रेलियाका कप्तान तथा ओपनर आरोन फिन्च ५ रनमा क्याच आउट हुँदा दबाबमा देखिएको अष्ट्रेलिया त्यसपछि खेलमा फर्किएको थियो।

टस हारेर ब्याटिङको निम्तो पाएको न्युजल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४८ बलमा १० चौका र ३ छक्का सहित सर्वाधिक ८५ रनको योगदान गरेपनि जितका लागि पर्याप्त भएन। 

विजेता टोलीले १.६ मिलियन डलर पुरस्कार पाउने छ। उप विजेता टोली न्युजिल्यान्डले ८ लाख डलर प्राप्त गर्नेछ भने सेमिफाइनलमा पराजित हुने दुई टोलीले इंग्ल्यान्ड र पाकिस्तानले ४-४ लाख डलर प्राप्त गर्नेछन्। अष्ट्रेलियाले सन् १८८७, १९९९, २००३, २००७ र २०१५ मा एकदिवसिय विश्वकप उपाधि जिते पनि टि-२० विश्व कपको उपाधी भने जितेको थिएन।