काठमाडौं। आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले अमेरिकाविरुद्ध जित दर्ता गरेको छ। गएराति सम्पन्न पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको हो। 

टस जितेर व्याटिङमा उत्रिएको अमेरिकाले नेपाल सामु २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जसमा नेपालका युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको हो। टस जितेर व्याटिङ् रोजेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन जोड्दै नेपाललाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी व्याटिङ्‍मा उत्रिएको नेपालले शानदार शुरुवात गर्‍यो। नेपाललाई पहिलो विकेटका लागि ओपनर आसिफ शेख र कुशलले १४ ओभरमा ६६ रनको कीर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरे। नेपालको जितमा ओपनर कुशल भुर्तेलले ९३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिए भने रोहितले ८७ बलमा ३ छक्का र २ चौका सहित ६२ रनमा अविजित रहे। यस खेलबाट उनले आफ्नो ओडिआई करिअरको कीर्तिमानी अर्धशतक पूरा गरेका छन्। ओडिआई करिअरमा उनको लगातार दोस्रो अर्धशतक हो। उनी नेपालबाट ओडिआईमा तेस्रो अर्धतक बनाउने पहिलो खेलाडी हुन्।

अमेरिकाविरुद्ध नेपालको जितमा व्याट्सम्यानको बलियो साझेदारी देखियो। पाँचौ विकेटका लागि रोहित र विनोदले ८३ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित उन्मुख गाराए फलस्वरुप नेपालले ४९ औँ ओभरको अन्तिम बलमा लक्ष्य भेटायो र ६ बल बाँकी छँदै ५ विकेटको शानदार जित निकाल्न सफल भयो। 

यस अघि व्याटिङ् रोजेको अमेरिकाका लागि मोनांक पटेलले १ सय १४ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन। यो सतकसँगै पटेल अमेरिकाबाट ओडिआईमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने। उनले १ सय १४ बलमा ओडिआई करिअरको पहिलो शतक पूरा गरेका हुन्।

बलिङतर्फ नेपालका लागि स्पिनर सुशान भारी, सन्दिप लामिछाने र बिक्रम सोवले समान २-२ विकेट लिए। भारीले १० ओभरमा ३१ रन खर्चेर २ विकेट लिएका हुन् भने स्पिनर सन्दीप लामिछानेले १० ओभरमा २ मेडन सहित ३५ रन खर्चेर २ विकेट लिएका थिए। त्यस्तै, विक्रम सोबले ६ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए भने कुशल मल्लको नाममा एक विकेट रह्यो।

अब, नेपालले दोस्रो खेलमा घरेलु टोली ओमानसँग मंगलबार खेल्ने छ।