काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादको फैसलामा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। सोमबार फैसला गर्दै आयोगले केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य यादव पक्षसँग भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो। 

जसपाका अध्यक्ष यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर पक्ष विपक्षबीच सनाखत  गराएपछि फैसला गरेको थियो। ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा रहेको जनाए थिए भने महन्थ ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए। त्यसकै आधारमा निर्वाचन आयोगले आधिकारिकता टुङ्गो लगाएको हो।

२०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद रहि आएको छ। यस विवादमा कैलालीको टीकाबाट सांसद् जितेका रेशमलाल चौधरी पनि आयोगमा उपस्थित भए पनि उनी तटस्थ बसेका छन्। उनी जसपा कै सांसद् हुन्।

जसपाको आधिकारिकताको विवाद टुङ्ग्याउन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो। सो इजलासले साउन ७ गते केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन आदेश दिएको थियो ।

आयोगले यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेपछि अर्को पक्षलाई नयाँ नाम र नयाँ चुनाव चिह्नसहित आउन निर्वाचन आयोगले मौका दिएको छ।