काठमाडौं। राष्ट्रिय फुटबल टीमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले प्रमुख प्रशिक्षकबाट राजीनामा दिएको जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा आफू राजीनामा गर्न लागेको जनाएका हुन् ।

अलमुतैरीले अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का वरिष्ठ उपाध्यक्षको कारण आफू राजीनामा  दिन लागेको सामाजिक सञ्जाल मार्फत जनाएका छन्। प्रमुख प्रशिक्षक अलमुतैरीले गएको तीन साता वरिष्ठ उपाध्यक्षले प्रत्येक दिन आफूसँग नाटक गरेको आरोप लगाउँदै राजिनामाको घोषणा गरेका हुन्।

अलमुतैरीलाई अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले सन् २०२१ को अप्रिलको शुरुवातमै एक वर्षे सम्झौता गरी राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो। अलमुतैरी एसियाली फुटबल सङ्घ(एएफसी)को व्यवसायिक प्रशिक्षकलाई निर्देशकको अनुमति प्राप्त गरेका प्रशिक्षक हुन्।

नेपाली राष्ट्रिय टोलीले अलमुतैरीको प्रशिक्षणमा विश्वकप फुटबल २०२२ र एएफसी फुटबल २०२३ को छनौट खेलि सकेको छ । प्रशिक्षक अलमुतैरीकै प्रशिक्षणमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । फुटबल विश्वकप २०२२ को छनाेट अन्तर्गतको दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेई अतिरिक्त अष्ट्रेलिया र जोर्डनविरुद्ध हार बेहोरे पनि सुधारिएको प्रदर्शन गरेको थियो ।