काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन् । आज(आइतबार) राति अबेरसम्मको को प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसद्मा रहेका कूल सांसद संख्याको १६५ मत पाएका हुन् । २४९ सांसद् जना उपस्थित भएका मध्ये विपक्षमा ८३ मत र दिन्न भन्ने पक्षमा एक मत परेको छ।

सर्वोच्च अदालले परमादेश जारी गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न र ३० दिनभित्र विश्वासको मत लिन भनेपछि नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन्।

सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो। पाँच दलीय गठबन्धनका माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरेका थिए ।

विश्वासको मत पाएसँगै देउवाले प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने छन् । अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ । यो समय गुजारेपछि देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचन गराउनेछन् ।