नेपालमा कोरोना सङक्रमितको संख्या एक लाख नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ५९ जना नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या एक लाख नाघेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालाबाट गरिएको कुल १३ हजार २ २७९ परिक्षणमा २ हजार ५९ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको हो । यसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ६७६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौं उपत्यकामा १ हजार ४०९ सङक्रमित थपिएका छन् । जसमा काठमाडौं जिल्लामा १ हजार ११६, ललितपुरमा १ सय ६३ र भक्तपुरमा १ सय ३० जना रहेका छन् ।

