सिन्धुली। फिक्कल गाउँपालिकाको आर्थिक सहयोग र इको कनेक्ट नेपालको प्राविधिक सहयोगमा सात दिने सेनिटरी प्याड उत्पादन सम्बन्धी तालिम गाउँपलिकाको वडा नं. २ मा सम्पन्न भएको छ। वडा नं २. का ९ जना महिलाहरूलाई स्थानीय सामग्रीहरूबाट पुन: प्रयोग गर्न मिल्ने सेनिटरी प्याड बनाउने तथा महिनावारी स्वच्छता सम्बन्धी ७ दिने तालिम असार २४ गते सम्पन्न भएको हो।

तालिममा पून: प्रयोग गर्न सकिने सेनिटरी प्याड बनाउने तालिमको साथै महिनावारीलाई कसरी मर्यादित बनाउने भन्ने बारेमा प्रक्षिण गराईएको र महिनावारी व्यवस्थापनसँगै सेनिटरी प्याड उत्पादन र वितरणलाई आम्दानीसँग जोड्ने विषयलाई तालिममा जोड दिईएको थियो।

समापन कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले आगामी दिनहरूमा स्थानीय स्तरमै पुन: प्रयोग गर्न मिल्ने सेनिटरी प्याड आफैले उत्पादन गर्न सकिने र मर्यादित महिनावारी हुनुका साथै सेनिटरी प्याडको उत्पादनबाट तालिम प्राप्त स्थानीय महिलाहरूको आयआर्जनको स्रोत समेत बन्नेमा आफू विश्वस्त रहेको बताउनु भयो।

उहाँले फिक्कल गाउँपालिकाले चौतर्फी विकासमा ध्यान दिँदै आएको बताउनु हुँदै, उद्यमशिलताको माध्यमबाट फिक्कल गाउँपालिकाबासी महिलाहरूलाई सबल र सक्षम बनाउनका  लागि गाउँपलिकाले गाउँपालिकाको वडा नं. २ पोखरीका ९ वटा महिला समूहलाई बिउ पूँजी हस्तान्तरण गरेको बताउनु भयो। साविक पोखरी गाविसको ९ वटा वडा समेटिने गरी ९ वटा महिला समूहलाई १०-१० हजारका दरले  समूहको हौसला प्रादन गर्न र बचत गर्ने बानीको विकासका लागि बिउ पूँजी हस्तान्तर गरिएको हो।

तालिम कार्यक्रमको समापन गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारको प्रमुख आतिथ्यतामा वडा नं. २ का वडा अध्यक्ष राम प्रसाद भण्डारीको अध्यक्षता तथा इको कनेक्ट नेपालका प्रबन्ध सञ्चालक सुशिल कार्की उपस्थिति समापन भएको थियो।