काठमाडौं। जारी कोपा अमेरिका कप प्रतियोगितामा अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनाले ट्राइब्रेकरमा कोलम्बियालाई हराउँदै फाइनल प्रवेश गरेको हो। 

बुधबार बिहान सम्पन्न सेमीफाइनलको  अर्जेन्टिना र कोलम्बियाबीचको खेल नियमित समयमा १-१ को बराबरी भएपछि ट्राइब्रेकरमा लिइएको निर्णयमा अर्जेन्टिनाले कोलम्बियालाई ३-२ ले हराएको हो।

खेलको ७ औँ मिनेटमै अर्जेन्टिनाले लौटारो मार्टिन्नेजको गोलमा अग्रता लिए पनि खेलको दोस्रो हाफमा सम्हालिन नसक्दा खेलको ६१ औँ मिनेटमा गोल खान पुगेको थियो। कोलम्बियाका लागि खेलको ६१ औँ मिनेटमा लुइज डायजले गोल गर्दै कोलम्बियालाई बराबरीमा फर्काएका थिए। त्यस पश्चात दुवै टीमबाट कुनै गोल हुन नसक्दा खेल बराबरीमा सकिँदा निर्णय ट्राइब्रेकर मार्फत लिईएको थियो।

ट्राइब्रेकरमा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिन्नेजले उत्कृष्ट प्रदर्शन गर्दै ३ वटा पेनाल्टी रोक्दा खेल अर्जेन्टिनाले जितेको हो। अर्जेन्टिनाका खेलाडी डि पाउलले प्रहार गरेको पेनाल्टि भने आकाशियको थियो।

अब, कोपा अमेरिकाकको फाइनलमा अर्जेन्टिनाले ब्राजिलको सामना गर्नेछ। फाइनल खेल जुलाई ११ मा हुने छ।