काठमाडौं। युरो कप अन्तर्गत गए राति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगल विजयी भएको छ। युरो कपको समुह चरणको समुह एफको पहिलो खेलमा फ्रान्स र पोर्चुगलले जित निकालेको हो।

फ्रान्सले जर्मनीलाई १-० र पोर्चुगलले हङ्गेरीलाई ३-० गोलले जित निकालेको हो। फ्रान्सको जितमा खेलको २० औँ मिनेटमा उपहार गोल पाएको थियो। जर्मनिका डिफेण्डर म्याट ह्युमेल्सले बल क्लियरेन्स गर्ने बेला आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए।

त्यस्तै, पोर्चुगलको जितमा कृष्टियानो रोनाल्डोले २ तथा राफेल गुइरोले १ गोल गरे। खेलको पहिलो हाफमा बराबरीमा रोकेको हङ्गेरीले खेलको दोस्रो हाफमा सम्हालिन नसक्दा खेलको ८४ औँ, ८७ औँ र इन्जुरी समयमा गोल खान पुगेको थियो।

आज बेलुकाबाट समुह 'ए'को दोस्रो चरणको खेल सुरु हुने छ। आज, समुह ए मा रहेका टर्की र वेल्स तथा समुह 'बि'मा रहेको फिनल्याण्ड रसियाबीच खेल हुने छ।