काठमाडौं । कोपा अमेरिकाको आज बिहान भएको खेलमा अर्जेन्टिना र चिलीले १-१ गोलको बराबरी खेलेको छ । कोभिड-१९ महामारीको कारण आर्जेन्टिनामा हुने कोपा अमेरिका २०२१ को आयोजक अन्तिम समयमा ब्राजिलमा सारिएको थियो ।

पहिलो हाफको ३३ औं मिनेट मै कप्तान मेस्सीको गोलमा अर्जेन्टिनाले अग्रता लिए पनि अग्रत जोगाउन नसक्दा बराबरीमा चित्ता बुझाउनु परेको हो । मेस्सीले फ्रिकिकमार्फत गोल गरेका थिए ।

कोपा अमेरिकाको प्रमुख दाबेदारको रुपमा हेरिएको अर्जेन्टिनालाई चिलीले दोस्रो हाफको ५७ मिनेटमा बराबरी गरेका थिए । अर्जेन्टिनाका निकोलस टाग्लियाफिकोले पेनाल्टी एरियामा आर्टुरो भिडाललाई लडाएपछि चिलीले पेनाल्टी पाएको थियो । प्राप्त पेनाल्टी भिडालले प्रहार गरेका थिए । तर गोलरक्षक एमिलियानो मार्टिनेजले भिडालको प्रहारलाई रोकेका थिए । रोकेर फर्किएकोलाई एडुआर्डो भार्गासले पुन प्रहार गर्दै गोल गरेका थिए ।

खेल अवधिमा अर्जेन्टिनाले थुप्रै अवसरहरु बनाए पनि सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन बाध्य रह्यो । समूह 'बी' मा रहेका अर्जेन्टिना र चिलीले बराबरी पश्चात १-१ अंक बटुलेका छन् ।

त्यस्तै समूह 'बी' कै अर्को खेलमा बारग्वे ले बोलिभियालाई २-१ गोलले पराजित गरेको छ । जीतसँगै समूह 'बी' को पहिलो चरणको खेलमा पाराग्वे शीर्षस्थानमा रहन सफल भयो भने अर्जेन्टिना र चिली समान १-१ अंकसहित दोस्रो र तेस्रो स्थान छ भने उरुग्वेले खेल्न बाँकी छ ।

दुवै समूहमा ५-५ देशको सहभागिता रहेको छ ।