काठमाडौं । यूरो कप तयारीको लागि भई रहेको अन्तर्राष्ट्रय मैत्रीपूर्ण खेलमा इटालीले चेक रिपब्लिकमाथि सहज जीत निकालेको छ । आज राति भएको खेलमा इटालीले ४-० गोल अन्तरले खेल जितेको हो ।

इटालीलाई फराकिलो जित दिलाउन इमोविल, बरेल्ला, लोरेन्जो इन्सिग्ने र डिमिनीले समान १-१ गोलको योगदान दिए । पहिलो हाफमा २ गोल गरेको इटालीले खेलमा पकड कायम राख्दा दोस्रो हाफमा पनि समान २ गर्न सफल भएको थियो । खेल अवधिभर इटाली विरुद्ध कुनै ठूलो आक्रमण गर्न नसकेको चेक रिपब्लिकले भने निरिह देखिए ।

स्पेन र पोर्चुगल बराबरीमा रोकियो

त्यस्तै अर्को खेलमा स्पेन र साविक यूरोकप विजेता पोर्चुगलले गोलबिहिन बराबरी खेलेको छ । निर्धारित समयमा दुवै पक्षबाट गोल हुन सकेन । खेल अवधि भर स्पेनले पोर्चुगललाई दबाबमा राखे पनि जित भने निकाल्न सकेन । खेल अवधिभर दुवै पक्षबाट उत्कृष्ट प्रहार हुन नसक्दा दुवै पक्ष स्पष्ट जितबाट टाढा रह्यो ।

मिनि विश्वकपको रुपमा चिनिने प्रतिष्ठित युरोकप जुन ११ बाट युरोपको विभिन्न सहरहरुमा सुरु हुँदैछ ।