काठमाडौं। सन् २०२२ मा कतारमा हुने  विश्वकप फुटबल तथा सन् २०२३ मा हुने एसियन कप छनौट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित दर्ता गरेको छ। नेपालले चाइनाताइपेलाई २-० ले पराजित गरेको हो। 

नेपालको जितमा अन्जन विष्ट र नवयुग श्रेष्ठले समान १/१ गोल गरे। नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि, उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएका हुन्। 

नेपालले राम्रो दबाब दिएको खेलको पहिलो हाफमा १-० ले अग्रता कायम राख्न सक्यो। त्यस्तै खेलको दोस्रो हाफको ८१ औँ मिनेटमा सबस्टिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले नेपालको अग्रता दोब्बर पारे। उनले सुमन अर्यालले पेनाल्टी क्षेत्र भित्रबाट दिएको क्रसलाई गोलमा परिणत गर्दै नेपाललाई २-० को जितको बाटोतर्फ डोर्‍याएका थिए ।

जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा उक्लेको छ। एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित पारेको छ। नेपालले ६ खेलमा २ जित र ४ हारसहित ६ अंक जोडेको छ। अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५-५ खेलमा समान १०-१० अंक रहेको छ। जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन।

आज अष्ट्रेलिया र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।