रामेछाप। नयाँ भेरिएन्ट सहितको कोरोना सङ्क्रमण गाउँगाउँसम्म फैलिएपछि गोकुलगंगा गाउँपालिकाले वडावडामै पुगेर कोरोना परीक्षण थालेको छ। गाउँपालिकाको जेठ ७ गतेको निर्णयअनुसार आज जेठ १० गतेदेखि १२ गतेसम्म गाउँपालिकाको सबै वडाहरूमा पुगेर एन्टजेन विधिबाट कोभिड १९ सङ्क्रमण परीक्षण गर्न लागेको हो।
सोही अभियान अन्तर्गत गाउँपालिकाले आज चुचुरे स्वास्थ्य चौकी, खरानेटार र ठोसे स्वास्थ्य चौकी, ठोसे बजारमा परीक्षण गरिएको छ। आज गाेकुलगङ्गा वडा नं. १ चुचुरे र वडा नं. -२ ठाेसेबजारमा ५२ जनाकाे एन्टिजेन बिधिबाट परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष खड्ग सुनुवारले बताउनु भएको छ।
अध्यक्ष सुनुवारले कोरोना नियन्त्रण र रोकथामको लागि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका नागरिकको परीक्षण गरिने बताए । उहाँले अहिले गाउँपालिकाको सबै ध्यान कोरोना नियन्त्रण र रोकथामको लागि रहेको बताउदै भएको स्रोत र साधनको अधिकतम प्रयोग गरिएको बताउनु भएको छ।
भोली जेठ ११ गते बिहान १० बजेदेखि १ बजेसम्म रस्नालु स्वास्थ्य चौकी, पात्ले र दिउँसो १:३० बजेदेखि ४:३० बजेसम्म बेताली स्वास्थ्य चौकी, बेतालीमा एन्टजेन्ट विधिबाट कोरोना परीक्षण गरिने र जेठ १२ गते बिहान १० बजेदेखि १ बजेसम्म नामाडी स्वास्थ्य चौकी, नामाडीमा र १:३० बजे देखि ४:३० बजेसम्म फर्पु स्वास्थ्य चौकी, फर्पुमा परीक्षण हुने अध्यक्ष सुनुवारले बताउनु भएको छ।