रामेछाप। रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका १६ स्वास्थ्य संस्थालाई ग्रीनतारा नेपालले अत्यावश्यकिय स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। ग्रीनतारा नेपालले कोभिड -१९ को महामारीमा अत्यावश्यकिय स्वास्थ्य सामग्रीको अभाव हुने भन्दै बैशाख ३१ गते उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ।
ग्रीन तारा नेपालका गोकुलगंगा गाउँपालिकाका फिल्ड कोअर्डिनेटर विभोर पोखरेलका अनुसार उक्त संस्थाले सन् २०२० देखि ग्रामिण स्वास्थ्य परियोजना सञ्चालन गर्दै आएको छ। सन् २०२० देखि २०२२ सम्म चल्ने परियोजनाले अहिलको कोभिड १९ को विषम परिस्थितिमा संस्थाले कोभिड १९ बाट बच्न बचाउन अत्यावश्यकिय स्वास्थ्य सामग्रीहरू मास्क, स्यानिटाइजर, पीपीइ, ग्लोब्स, फेससिल्ड तथा स्वास्थ्य संस्थाहरूलाई सफा पानीको लागि वाटर फिल्टर र निडिल वर्नस उपलब्ध गराएको छ।
फिल्ड कोअर्डिनेटर पोखरेलका अनुसार दुई गाउँपालिकाका १६ वटा स्वास्थ्य संस्थाको लागि निडिल वर्नर १६ वटा, वाटर फिल्टर १६ वटा, स्यानिटाइजर ३२ बोतल, डिसइन्फेक्सन ३२ थान, एन ९५ मास्क २ हजार २ सय थान, भिरेक्स ४ हजार थान, पिपिइ ७० थान, सर्जिकल मास्क २ हजार ८० थान, स्प्रे बोटल ७ थान, ग्लोब्स १९२ थान, सर्जिकल ग्लोब्स २१२० थान वितरण गरेको हो।
त्यस्तै संस्थाले १ सय ३७ महिला स्वयम सेवीकाहरूलाई १ सय ३७ फेससिल्ड, १०० मि.लि. दरका १ सय ३७ थान सेनिटाइजर, सर्जिकल मास्क २ हजार ५५ थान वितरण गरेको छ भने आमा समुहका १ सय ३७ सदस्य आमाहरूलाई ६ हजार थान सर्जिकल मास्क र १ सय ३७ थान सेनिटाइजर वितरण गरिएको फिल्ड कोअर्डीनेटर पोखरेलले जनचासोलाई बताएका छन्।