आमा !
तिम्रो शिरफूल जस्तै जूनले 
झ्यालबाट मेरो निन्द्रा खोस्दैछ 
तिम्रो निश्वास जस्तै बतास आएर
जिस्काई बस्छ घरी घरी ।

यो परदेशमा साँझ-बिहान, 
तिमीलाई मेरो हृदयको भूमेथानमा राखेर
बलविन्ती नमागी कहाँ म बाँचेको छु र ?
कैले शहरको कोलाहलमा,
कैले भीमकाय शून्यतामा,
जहाँ सुकै होस् न
फलाक्दै  जिन्दगीको जोखाना 
मन्साउदैछु, पीरको सहेँ।

बिहानीले परेली उघार्दै 
घामले  उता आफ्नो याक्सा चिहाउँदा 
एता यो मुङ्गलाने जिन्दगी
धमाधम सपनाहरूको अग्लो न अग्लो 
धरहरा बनाउँछु ।

जीवन फुलाउने सपनाको एक तला,
अभाव लखेट्ने सपनाको अर्को तला,
यस्तै ऐजन् ऐजन्
तलैतला सपनाहरूको महल
बन्छ - भत्किन्छ ।

कुनै एक महल पूरा हुँदानहुँदै 
दगुर्छ निङ्कुश समय, 
त्यै भग्नावशेष योजना कुल्चेर ।

आमा ! 
कैले हिउँदोको हिउँसंगै जम्छ मन,
कैले बर्खाको घामसंगै डढ्छ मन,
बाडुली लाग्दा तिर्सनाले,
अस्याट लाग्दा सम्झनाले
मनको माङ्सुक खिममा  
चढाउछु नि,
सँधै यादगारकै वासिम र वाबुप,

उताको घाम घुम्दै आएर
एता ठोक्किन्छ आँखाहरूमा,
जबरजस्ती खोसी लान्छ मिठो निन्द्रा
म घामको पाईला पछ्याउदै
फेरि शहरलाई फेरो मार्न निस्किन्छु
किरणहरूको ताते तातेसँगै
शहरको एउटा घरभित्र
पसिनाको बैनापट्टा गर्दै
सपनाको महलमा इट्टा थप्ने प्रयासमा
पूरै दिन फेरि निली दिन्छ, घामले
ओंठको घेरा ननाघेको अधुरो हाँसो बोकेर
फर्केर आई पुग्छु
उही भाडाको घरभित्र..........!

आमा !
जब पल्टिन्छु, ओछ्यानमा,
फेरि बास्न थाल्छ उही मनको मैना
अहिल्यै उडेर जान्छु भन्छ,
नाघेर क्षितिजको धारिलो घेरा
म फकाउछु आँखाको दृष्टिले 
छामेर मनले तिम्रो शिरफूल जस्तो 'जून' !!! 

-मनु लोहोरूङ राई (खाँदबारी -११, संखुवासभा, हाल:अमेरिका)