काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई  एक करोड आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इन्स्टिच्युटको बाल अस्पताल भवन निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो । 
 आज बैंकमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा डा भगवान कोइरालाबीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।    
    
 सो अवसरमा प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले स्थापनादेखि नै सामाजिक हितमा विशेष जोड दिएर अगाडि बढेको बताउँदै समाजोपयोगी कार्यमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो । उहाँले कोभिड–१९ को अहिलेको महामारीले पनि अस्पतालजस्ता स्वास्थ्य पूर्वाधारमा ठूलो लगानीको आवश्यकता महसुस भएको बताउँदै अस्पताल भवन निर्माणमा गरिएको यस किसिमको सहयोगले आगामी दिनमा सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।    
    
 प्रा डा कोइरालाले इन्स्टिच्युटले बालबालिकामा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौँको बूढानीलकण्ठमा बहुविशिष्टीकृत अस्पतालको निर्माण शुरु गरेको जानकारी दिनुभयो । उहाँले इन्स्टिच्युटले अन्य प्रदेशमा सोही प्रकृतिको सेटेलाइट अस्पताल सञ्चालनको तयारी गरेको बताउनुभयो ।