काठमाडौं। प्रभु क्यापिटल लिमिटेडद्वारा पोखरा स्थित चण्डिका आधारभूत विद्यालय र कर्म फ्लाइट्स फाउण्डेसनलाई कम्प्यूटर हस्तान्तरण गरेको छ। क्यापिटलले कास्कीको दुर्गम क्षेत्रका विद्यालय तथा संस्थाहरूलाई आईतबार क्रमश २ र १० थान कम्प्यूटर हस्तान्तरण गरेको हो।

क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतदुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर प्रविधिको सिकाई तथा अभ्यासमा सजिलो हुनुका साथै कम्प्युटर प्रविधिमा पहुँच विस्तार होस् भन्ने उद्देश्यका साथ पोखरामा एक कार्यक्रमबीच विद्यालय तथा फाउण्डेसनलाई सहयोग वितरण गरेको हो ।

कार्यक्रमका अतिथि प्रभु क्यापिटलका रिसर्च हेड अविरल नेपालले हस्तान्तरण कार्यक्रममा बोल्दै प्रभु क्यापिटलको सानो सहयोगले दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु माझ कम्प्युटरको प्राविधिक ज्ञान अभिवृद्धि गर्ने कार्यमा सहयोग पुग्ने विश्वास रहेको बताउनु भयो । यसै गरी कार्यक्रमका प्रमुख अतिथि प्रभु क्यापिटलका लगानी हेड भवन कर्माचार्यले क्यापिटलले आफ्नो व्यवसायको सञ्चालनका साथै सामाजिक क्षेत्रमा पनि सक्दो योगदान गर्दै आएको र आगामी दिनहरुमा पनि आवश्यक क्षेत्रमा कम्पनीले सो कार्यलाई निरन्तरता दिइने बताउनु भयो।

प्रभु क्यापिटलले वितरण गरेको १० वटा सिपियुलाई कर्म फ्लाइट्स फाउण्डेसनले मनिटरको समेत व्यवस्था गरी ५ वटा बाग्लुङ्ग र ५ वटा गोरखाका विद्यालयहरुमा वितरण गर्ने जानकारी कार्यक्रममा कर्म फ्लाइट्स फाउण्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले जानकारी दिनुभयो।