- केदार सङ्केत

---------------------------------
पोहोर साल मेरै घर सिरानको 
मुहानकै जरा उधुनेर 
धारा खोलाको मुहान थुनियो ।
बडेमान बनाइयो सिमेन्टको ट्यान्की
खोलामा एक बुँद छोडिएन पानी
तिर्खालु मृर्गका हुलले बसाई सरे ।

जो रमाइलो मानेर 
जलचर जीव थिए
ती सवैले बिस्तारै आहुती दिए ।

केही वर्ष पश्चात् 
सुसेली खेल्दै बग्ने 
खिम्ती सुकाइयो
कलकल बग्ने यो खोलाको
मिठो धुन लुकाइयो । 

फगत: खोला बगर भयो 
जेठो माझीको  धुरीनै भाच्यो 
ऊ पनि बसाई सर्यो ।

भर्खरै सुन्दै छु, लिखु सुकाइयो
लिखुको अनुपम सौन्दर्य सुकाइयो
अब सुकुम्बासी जस्तै भए 
लिखु किनार बालुवा उधुनेर 
उधारोमा जिन्दगी धकेल्नेहरू ।

सवै सुकोस् तर
लिखु खोला नसुकोस् ।

खाली खाली भए 
टाँगा र धक आफाल्नेहरू 
रित्तो रित्तो भए 
फुर्लुङ् भरेर निन्द्रा फकाउनेहरू ।

सरङमा 
- पेरुङ्गो रित्तो भयो 
दलिन
- ध्वाँसोले मात्र सुक्यो  । 
तितेका हुल  हरायो
तिते हराए पछि
तितेको स्वाद पनि हरायो । 

जे पनि सुकोस् तर
लिखु खोला  कहिले नसुकोस् ।
खोपामा सगुन आएन
पाखा, खर्क र भुमे डाँडामा
लिखुको धुन आएन 
देउरालीमा फूलपाती आएन ।

फलामे पूलले बगर  देख्यो
लिखुको बेग र निलो दह देखेन ।
वारिपारी आदिम गाउँको 
सम्पदाको एउटा  सिंङ्गार  बिलायो ।
पातला भए हाट भर्न आउनेहरूको ताँती 

अब सोच्दै छु
वर्षौँ लिखुको  कञ्चन पानी पिउने
त्यो रैथाने निगालेले कसरि तिर्खा भर्ला ?
वर्षेनी बेशीमा गोठभर्ने सोल्टीनीले
गर्मीमा कुन दहमा  पौडी  खेल्ला र 
मैले टाँगा बोकेर जिस्काउन पाउँला ?

सोल्टीनीको याद सुकोस् 
तर लिखु खोलाको सौन्दर्य नसुकोस् । 
कसरि सक्छौँ हौँ
लिखुखोलाको छाल र सुस्केरालाई
भस्माशुर निशानले कोपर्न ?

भन अब, सदियौँ देखि
भीरबाट हाक्किएर  उड्न्ने भीर मौरिले 
बिलाएको सौन्दर्य  सम्झेर 
कसरि  घर फर्किन्छन् होला ?

म अब 
-अमुर्तता भए 
-आकारहीनता भए 
-रुपहिनता भए 
भए अब म  बिस्तारै अदृश्य हुने भए 
 -बिना आवजको बगर भए ।

ए जाउ र छिट्टै सम्झाउ
मेरो सम्पदा र सौन्दर्य उधार्ने 
ती उजाड कठोर मनहरूलाई। 
मेरो रगत सुकोस् तर
लिखु खोलाको मिठो सुस्केरा  नसुकोस्।