सिन्धुली। कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान सिन्धुलीको नौवटै स्थानीय तहमा शुरु भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिकाले आजबाट दोस्रो चरणको खोप दिन सुरु गरेसँगै सिन्धुलीको नौवटै स्थानीय तहबाट खोप अभियान सुरु भएको हो।

जिल्लाका अन्य सातवटा स्थानीय तहले फागुन २३ गतेबाटै दोस्रो चरणको खोप अभियान सुरु गरिसकेका छन्। स्वास्थ्य कार्यलय सिन्धुलीका जितेन्द्र साहका अनुसार हिजो कमलामाई नगरपालिकामा ६४ महिला र ८८ पुरुष गरी १ सय ५२ जनाले खोप लगााएका छन्। नगरपालिकामा १६ भायल खोप खपत भएको छ, दुधौली नगरपालिकामा १७७ महिला र १८७ जना पुरुष गरी ३६४ जनाले खोप लगााउँदा ३९ भायल खोप खपत भएको छ।

त्यस्तै तिनपाटन गाउँपालिकामा ३ सय ३९ जना, गोलोन्जोरमा १ सय ६५ जना, हरिहरपुगढि गाउँपालिकामा १ सय २४ जना, मरिण गाउँपालिकामा १ सय ४८ जना र घ्याङलेख गाउँपालिकामा ४४ जनाले खोप लगाएका छन्। हिजो बाट ६५ बर्ष उमेर समुह भन्दा माथिका लाई खोप दिइएको हो ।