निजी क्षेत्रको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले दोस्रो राष्ट्रिय महाधिवेशन चैत्रमा गर्ने निर्णय गरेको छ ।

देशभरका साना तथा मझौला उद्योगी व्यवसायीहरुको हितका लागि काम गर्दै आएको व्यवसायी महासंघले उद्योगी व्यवसायीहरुका लागि सहज औद्योगिक एवं व्यवसायीक वातावरण निर्माणका लागि काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा आगामी ७ चैतमा दोस्रो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

चैतमा हुने महाधिवेशन  कार्यक्रमलाई  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरिने महासंघले जनाएको छ । यस महासंघले कोरोना महामारीको त्रासमा बन्द रहेका सटरहरु खुलाउन, चिनियाँ नाकामा देखिएका समस्याहरु सुल्झाउन या राज्यका तर्फबाट असहज नीतिहरु बनाइदा उद्योगी व्यवसायीहरुको हितमा आवाज वुलन्द गर्ने विषयमा  सधै अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्दै आएको विज्ञप्तिमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरुले लिने ऋणको ब्याजदरको विषयमा  या घरबहालको विषयमा देखिएका समस्याहरु  समाधान गर्नका लागि पनि महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।


उद्योगी व्यवसायीहरुका हितमा चालेका कदमहरुका कारण नेपाल राष्ट्रिय व्यवसायी महासंघ स्थापनाकालदेखी नै सधै चर्चामा रहदै आएको र आगामी दिनमा समेत उद्योगी व्यवसायीहरुका लागि सहज औद्योगिक एवं व्यवसायीक वातावरण निर्माणका लागि  नेतृत्वदायी  रहने महासंघले  विज्ञप्तिमा व्यक्त गरेको छ ।