काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने अनुमान गरेको छ। आईएमएफको वर्ल्डको इकोनोमिक आउट लुक प्रतिवेदनका अनुसार नेपालले सन् २०२२ मा ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने जनाएको हो।

प्रतिवेदनले सन् २०२१ को तुलनामा स्थिर आर्थिक वृद्धिदर रहने जनाएको हो, गत अप्रिलमा आईएमएफले नेपालको वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

समग्र विश्व अर्थतन्त्र नै उत्पादन सङ्कुचन, उच्च मुद्रास्फीति र वित्तीय अस्थिरताको जोखिमतर्फ धकेलिन लागेको आईएमएफको प्रक्षेपणकाबीच नेपालको वृद्धिदरमा सुधारसहितको संशोधन प्रस्तुत भएको हो ।

अत्यधिक आयातका कारण विदेशी मुद्रा सञ्चितिमा परेको दबाब, पर्याप्त तरलताको अभाव र बढ्दो मूल्य वृद्धिका कारण नेपालको अर्थतन्त्रले पनि पछिल्ला केही महिनायता समस्या सामना गर्नु परिरहेको छ ।

समग्र एसिया क्षेत्रको आर्थिक वृद्धिदर भने घट्दो देखिएको छ । सन् २०२१ मा एसिया क्षेत्रको औसत आर्थिक वृद्धिदर ६ दशमलव ५५ प्रतिशत थियो । तर, यसवर्ष ४ दशमलव ५ मा खुम्चने र आउँदो वर्ष सामान्य बढेर ४ दशमलव ६५ मा सीमित हुने प्रक्षेपण गरिएको छ ।