सिन्धुली। सडक निर्माण भएको लामो समय पश्चात सिन्धुली चकमके जोड्ने सडको सिन्धुलीको माझीटारस्थित बुद्धचोकबाट जिर्घा खोलासम्मको करिब १५ किलोमिटर सडक कालोपत्रे हुने भएको छ।  बागमती प्रदेश सरकारको बजेटमा सुरु गरिएको सो सडक गत असार ३ गते ठेक्का सम्झौता भएको थियो।

बाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले सडकको सिलान्यास गर्नुभएको थियो। काम सुरु गरको २ महिनामा २० प्रतिसत कार्य सम्पन्न भएको निर्माण ब्यवसायी अरुन लामाले जानकारी दिनुभयो। अहिले सडकको काम माझिटार,लुङ्गेलिटार,रामपुर र थरहरीमा धमाधम भइरहेको छ । सकड निर्माणका कार्यमा १ सय ५ जना युवालाई समेत रोजगार प्रदान गरिएको निर्माण ब्यवसायी लामाले बताउनु भयो ।

राज्यले बालुवा, ढुङ्गा उत्खनन गर्न खोलामा मेसिन प्रयोग गर्न रोक लगाएकाले निर्माण सामग्रीमा चर्को मूल्य तिर्नु परेको निर्माण ब्यवसायीको गुनासो रहेको छ। सडक निर्माणका लागि निर्माण सामग्री ल्याबबाट परिक्षण गरेर मात्रै प्रयोग गर्ने गरिएको छ । उक्त सडकको ठेक्का आशिष डिएस जेभि हेटौँडाले पाएको छ ।

बुद्धचोकबाट जिर्घासम्मको सडक जम्मा १४ किलोमटर ५६० मिटर रहेको छ। सडक १२ मिटर चौडाईको हुनेछ। नालाको चौडाई १ दसमलव २ मिटर रहने जनाइएको छ। ३४ करोड, ४० लाख ५८ हजार ७५७ रूपैयाँ लागतमा निर्माण ठेक्का सम्झौता भएको थियो। सो सडक २०७९ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।