मस्को, एएफपी। युक्रेनको मारिउपोलमा रहेको स्टिल उद्योगमा थुनिएका झण्डै ५० जनालाई बाहिर निकालिएको छ ।

रुसको रक्षा मन्त्रालयले उनीहरूलाई स्टिल उद्योगको भवनबाट बाहिर निकालिएको आइतबार जानकारी दिएको छ ।

“यही अप्रिल ३० मा मानवीयतालाई ध्यान दिँदै र अन्तर्राष्ट्रिय समुदायको कुरालाई समेत मानेर हामीले उनीहरूलाई सकुशल भवनबाट बाहिर निकालेका छौँ,” मन्त्रालयले भनेको छ ।    

ती मध्ये २५ जनाले दिउसोतिर त्यो ठाउँ छोडेका थिए भने बेलुकातिर २१ जनाले छोडेका थिए । त्यसपछि उनीहरूलाई मारिउपोलबाट रुस तर्फ जाने बाटोमा पर्ने रुसको सिमानामा रहेको बेजिमेन्नीमा लगिएको छ ।
 
युद्धविरामको समयमा ती सर्वसाधारणहरूलाई घेराबन्दीमा रहेको मारिऊपोल स्थित एजोभस्टाल उद्योग परिसरबाट उद्धार गरिएको रुस र युक्रेन दुवैले पुष्टि गरेका छन् ।

अघिल्लो हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त उद्योग क्षेत्रलाई घेराबन्दी गर्न आदेश दिएपछि उनीहरु थुनिएका थिए । 

थुनामा रहेका अन्य झण्डै एक हजार सर्वसाधारणहरूलाई बाहिर निस्कन दिने बारेमा अहिले पनि वार्ता भइरहेको  छ ।