काबुल, एएफपी। इस्लामिक स्टेट्स (आइएस) समूहले आइतवार अफघानिस्तानको राजधानीमा एक महिलाको मृत्यु हुने गरी यात्रुबसमा भएको बम आक्रमणको जिम्मेवारी लिएको छ ।हालै जारी रहेको रमजान उपवास महिनामा गएको दुई हप्तायता भएका घातक आक्रमणहरूमा परी दर्जनौं व्यक्ति मारिनुको साथै घाइते भएका समाचारमा जनाइएको छ । 

राजधानी काबुलमा भएको बस आक्रमणमा परी एक महिलाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका यहाँँको प्रहरीले जनाएको छ । गत शुक्रबारको मस्जिदमा भएको बम विष्फोटको जिम्मा कुनै समूहले लिएको छैन, तर बसमा भएको आक्रमणको जिम्मेवारी आइएसले लिएको छ ।

विशेष गरी सुन्नी बहुल्लता रहेको स्थानमा अफघानिस्तानको अल्पसंख्यक शिया र सुफी समुदायहरूलक्षित हालैका हप्ताहरूमा भएका बम विस्फोटनलगायतका आक्रमणहरूको आइएस समूहले दाबी गर्दै आएका छन् । तालिबान अधिकारीहरूले आफ्नो सेनाले आईएसलाई पराजित गरेको दाबी गर्दै आएका छन् ।  तर विश्लेषकहरूले जिहादी समूह प्रमुख सुरक्षा चुनौती रहेको बताउँदै आएका छन् ।

यसैबीच काबुल प्रहरीले रमजानको अन्त्य भएको इद अल–फित्र बिदामा “सुरक्षा सुनिश्चित गर्ने“ वाचा गरेको छ ।