रामेछाप । रामेछापमा थप एक जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । शनिबार आएको रिपोर्ट अनुसार दोरम्बा गाउँपालिकाको स्वास्थ्य चौकी दोरम्बामा कार्यरत २० वर्षीया महिला स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।

यो सङ्गै रामेछापमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या २१९ जना पुगेको छ । यसमध्ये दुई सय तीन जना कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् । जिल्ला अस्पताल रामेछापमा दुईजना, मन्थली नगरपालिकामा तीनजना र दोरम्बा गाउँपालिकामा ११ जना गरी १६ जना कोरोनाका सक्रिय सङ्क्रमितको अहिले आइसोलेशनमा उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

जिल्लामा हालसम्म दुईहजार ५२६ जनाको स्वाब परीक्षण गरिएकोमा दुई हजार ३०४ जनाको नेगेटिभ रिपोर्ट आएको छ । हालसम्म जिल्लाको मन्थली नगरपालिकाका १०३ जना ,रामेछाप नगरपालिकाका ३० जना ,गोकुलगंगा गाउँपालिकाका २७ जना ,लिखुतामाकोसी गाउँपालिकाका २० जना ,दोरम्बा गाउँपालिकाका १४ जना ,सुनापति गाउँपालिकाका दशजना , जिल्ला अस्पतालमा दशजना, खाँडादेवी गाउँपालिकाका तीनजना र उमाकुण्डा गाउँपालिकाका दुईजनामा कोरोना सङ्क्रमण भएको छ ।