नवीन सुनुवार, सिन्धुली । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका -१ नयाँगाउँको जनकल्याण आधारभूत विद्यालयको चारकोठे नवनिर्मित पक्की भवन उद्घाटन भएको छ । पुस ६ गते गाउँपालिकाका अध्यक्ष धन बहादुर कार्की तथा उपाध्यक्ष पार्वती सुनुवारले संयुक्त रुपमा विद्यालय भवनको उद्घाटन गरेका हुन् ।

पुनर्निर्माण प्राधिकरणको ८० लाख लगानीमा विद्यालयले भुकम्प प्रतिरोधी चारकोठे भवन निर्माण गरेको हो । पुनर्निर्माण प्राधिकरण अन्तर्गतको शिक्षा पुनर्निमाण परियोजनामार्फत गाउँपालिकाको विभिन्न विद्यालयहरुमा परियोजना सम्पन्न भईसकेको गाउँपालिकाका अध्यक्ष धन बहादुर कार्कीले जनाएका छन् । सोही परियोजना अन्तर्गत फिक्कल गाउँपालिका १ नयाँ गाउँ स्थित जनकल्याण आधारभूत विद्यालयमा भवन निर्माण सम्मपन्न गरिएको उनले बताए । 

विद्यालय व्यवस्थापन समितिको सक्रियतामा नव निर्मित भवन निर्माण सम्पन्न गरी पुस ६ गते उद्घाटन गरिएको हो । भवन उद्घाटनका क्रममा गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि भौतिक संरचना तयार भइसकेको र गाउँपालिकाले प्रविधिमैत्री शिक्षामा विशेष ध्यान दिने गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले जनाएका छन् ।