काठमाण्डौं–राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद्बीच उद्यमशीलता विकास सञ्चालन गर्न सम्झौता भएको छ ।
बैंकका नियमानुसार सहुलियपूर्ण कर्जा उपलब्ध गराई उद्यमशीलताको मार्गदर्शन दिन वित्तीय विकास र साक्षरताको तालिम सञ्चालन गरी युवाहरुलाई  स्वरोजगार बनाउन बैंक र युवा परिषद्बीच विहिबार सम्झौता भएको हो । 


सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का तर्फबाट कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलद्धारा हस्ताक्षर भएको छ । कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले तालिममार्फत लाखौँ युवाहरुलाई तालिम प्राप्त गराउने कार्यमा पछि नहट्ने र स्वरोजगार बनाउने बताएका छन् । त्यस्तै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष ढुङ्गेलले यस्ता तालिमले युवालाई व्यवसाय र सीप विकास भईसकेपछि बैंकको कर्जा लगानी दुरुपयोग हुने जोखिम घट्ने बताएका छन् ।

सम्झौतामा प्रत्येक प्रदेशका पाँचवटा स्थानीय तहमा पालिकास्तरका ३५ समूहमा १६–४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने साथै तालिम प्राप्त युवाहरुलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने परिषद्ले जनाएको छ । बैंककमा अनुसार त्यस्ता तालिम प्राप्त उद्यमीहरुलाई नियमानुसार सहुलियपूर्ण कर्जा उपलब्ध गराउने छ ।