काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ। बैङ्कले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो।

बैङ्कले ८ वर्ष अवधिका लागि  निष्काशन गर्ने ऋणपत्र माघ ३ गतेदेखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्काशन तथा बिक्री खुला हुने जनाएको छ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सो ऋणपत्र खरिदका लागि छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १७ गतेसम्म लम्बिनेछ।