एन्फाको सातदोबाटोस्थित खेल मैदानमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा इलामको रोङ गाउँपालिकाले हुम्लाको सिमिकोट गाउँपालिका विरुद्ध ११–० गोल अन्तरको जीत निकालेको छ ।
रोङले समुह चरणको अन्तिम खेलमा हुम्लाको सिमिकोट गाउँपालिकालाई पराजित गरेको हो । पहिलो हाफमा ५ गोल गरेको रोङले दोश्रो हाफमा ६ गोल थपेको हो । रोङको जीतमा इन्दिरा राईले ५ गोल र कप्तान अनिता राईले ३ गोल गरिन् र अनिशा राई, दिपा राई, बिमला बिकले समान १/१ गोल गरे ।
पहिलो हाफमा ह्रयाट्रिक गरेकी इन्दिराले दोश्रो हाफमा २ गोल गरिन् । कप्तान अनिताले दोश्रो हाफमा ह्रयाट्रिक गरिन् । खेलको ९ औं मिनेटमा रोङले सुरुवाती अग्रता बनाएको थियो । अनिता राईको प्रहार पोलमा लागेर फर्किएर आएपछि अनिसा राईले पहिलो गोल गरिन् । २० औं मिनेटमा इन्दिरा राईले अग्रता दोब्बर बनाइन् । बिमला बिकको पासमा इन्दिराले गोल गरेकी हुन् । पुनः ३० औं मिनेटमा इन्दिराले व्यक्तिगत दोश्रो गोल गर्दा रोङले ३ गोलको अग्रता बनाएको हो । कप्तान अनिता राईको पासमा इन्दिराले जाली चुमाइन् । ४२ औं मिनेटमा इन्दिराले ह्रयाटिक पुरा गरिन् । दिपा राईको पासमा डिबक्सभित्रमा गरेको प्रहार बारमा लाग्दै जाली चुम्यो । इन्जुरी समयमा सिमिकोटको डिफेन्डरको गल्तीको फाइदा उठाउदै दिपा राईले गोल गर्दा रोङले पहिलो हाफमा ५–० को अग्रता बनायो ।
खेलको दोस्रो हाफको ५० औं मिनेटमा अनिताले व्यक्तिगत पहिलो गोल गरिन् । ७३ औं मिनेटमा दिपा राईको पासमा अनिताले गोल गर्दा रोङले ७–० को अग्रता बनायो । ७५ औं मिनेटमा बिमला विकको लामो प्रहारले जाली चुम्यो । खेलको ८१ औं मिनेटमा दिपा राईको फ्रिकिक प्रहारलाई इन्दिराले जाली चुमाइन् । ८२ औं मिनेटमा अनिताले ह्रयाट्रिक पुरा गरिन् । ८७ औं मिनेटमा सिमिकोटकी गोलरक्षकको हातबाट फुत्किएको बललाई इन्दिराले गोल गरेपछि रोङले ११–० को अन्तरले जीत निकाल्दै नकाउट प्रवेशलाई बलियो बनाएको छ ।
खेलमा प्लेयर अफ दि म्याच रोङकी इन्दिरा राई घोषित भइन् ।
अब काठमाण्डौ र सिमिकोट बिचको खेलले नकआउट प्रवेशको टुङ्गो लगाउने छ । काठमाण्डौले सिमिकोटलाई ११ भन्दा कम गोल अन्तरले हराएको खण्डमा रोङ गोल अन्तरको आधारमा नकाउट चरण प्रवेश गर्नेछ । यसअघि काठमाण्डौसँग गोल रहित बराबरी खेल्दै रोङले अंक बाँडेको थियो ।
सिमिकोटको जारी प्रतियोगिताको पहिलो खेल हो । यसअघि गत ५ गते काठमाण्डौसँग प्रतिस्पर्धा गर्ने तय भएपनि प्राविधिक कारणले खेल ११ गते सारिएको छ ।
जारी प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।