अखिल नेपाल फुटबल संघको आयोजनामा हुन लागेको उप-मेयर कप, राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिता- २०७८ को समूह "ई" बाट रोङ गाउँपालिकाले प्रतिस्पर्धा गर्ने भएको छ ।
यहि कार्त्तिक ४ गतेबाट हुने यस प्रतियोगितामा ३१ टिम रहेका छन् । जसलाई १० समूहमा विभाजन गरिएको छ । जसमध्ये समूह "ए"मा ४ टिम रहेका छन् भने अन्य ९ समूहमा ३-३ टिम रहेका छन् ।
रोङ गाउँपालिकाले समूह चरणको आफ्नो पहिलो खेल ७ गते काठमाडौं महानगरपालिकासँग खेल्ने छ भने अर्को खेल ९ गते हुम्लाको सिमिकोट गाउँपालिकासँग खेल्ने छ ।
यस प्रतियोगिताको प्रथम र दोस्रो टिम राष्ट्रिय महिला लिग २०७८ का लागि छनौट हुने छन् ।
समूह चरणको खेल पश्चात् नकआउट फर्मेटमा अन्य खेलहरु हुनेछ । पहिलो चरणमा समूह विजेता टिमहरुले नकआउट चरणमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै फेयर प्ले टिम, बेष्ट प्लेयर र प्लेयर अफ दि म्याचले नगद रु ५०-५० हजार प्राप्त गर्नेछन् भने बेष्ट स्ट्राइकरले नगर रु २० हजार प्राप्त गर्नेछ ।
प्रतियोगितामा सहभागी सबै टिमहरुले नगद रु ५० हजार तयारीका लागि प्राप्त गर्ने छन् ।
यता रोङ गाउँपालिकाको खेलाडीहरु क्लोज क्याम्पका लागि रोङ ३ को कुटीडाँडा बसी सूर्योय नगरपालिकाको कन्यामस्थित रहेको डुँडेगैरा खेलमैदानमा अभ्यास गरिरहेको छ ।