मिलन राई, रोङ। आगामी कार्तिक ४ गतेदेखि रौतहटमा हुन गइरहेको महिला उपमेयर कप फुटबल लिगका लागि इलामबाट रोङ गाउँपालिकाले पनि सहभागिता जनाउने भएको छ। सहभागी हुन रोङ गाउँपालिकाका ६ वटा वडाका महिला खेलाडी १३ गते छनोट गरी क्लोज क्याम्प राखेर खेल प्रशिक्षण गरिने भएको हो।

खेल छनोट तथा बन्द प्रशिक्षण रोङ ३ कुटीडाँडामा हुने भएको छ । सो प्रशिक्षणका क्रममा रोङ गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष युवराज खाप्तुवा ,वडा नम्बर ३ का वडाअध्यक्ष मात्रिका बराल, खेलकुद संयोजक बिर्ख सुब्बा, विभिन्न खेल प्रशिक्षक, वडा खेलकुद संयोजक लगायत खेलाडीहरूको उपस्थितिमा सुरु गरेको हो । गत असोज १० गतेदेखि सुरु भएको अभ्यासमा ३ दिनसम्म अभ्यास गरी १३ गते अन्तिम छनोट हुने र छनोटमा परेको खेलाडीहरूलाई बन्द प्रशिक्षण गर्ने भएको छ।

प्रशिक्षणका लागि ए एफ सी कोच दर्शन भतराजको भुमिका रहने खेलाडी सिजन खवासले बताए । सो अवधिभर खेलाडीलाई पाथिभरा मन्दिरको अतिथि भवनमा बस्ने व्यवस्था गरिएको छ ।