तस्विर: अलजजिरा

मुलुकमा खाद्यानको मूल्यमा भएको चरमवृद्धि नियन्त्रण गरी कृत्रिम अभाव रोक्न श्री लङ्का संसद्‍ले आपतकाल घोषणा पारित गरेको छ।

मंगलबार श्री लङ्काको संसदमा भएको मतदानमा १३२ सांसदले आपतकाल घोषणाको पक्षमा मत दिए भने विपक्षमा ५१ सांसदले मत दिएका थिए। संसदबाट पक्षमा बहुमत जुटेपछि राष्ट्रपति गोताबाया राजपाक्षले घोषणा गरेको आपतकाल स्वीकृत भएको हो।

केही समय यता श्री लङ्काले चिनी, दूध पाउडर, खाना पकाउने ग्यासजस्ता दैनिक आवश्यक पर्ने सामग्री र अत्यावश्यकिय सामग्रीहरू अभाव झेल्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाईरहेका थिए। त्यस सँगै गत ३० अगष्टमा राष्ट्रपति गोताबायले मुलुकमा त्यस्तो अभाव रोक्न तथा कालाबजारी र जम्माखोरी नियन्त्रणका लागि आपतकालको घोषणा गरेका थिए।

श्री लङ्काको संविधानअनुसार राष्ट्रपतिले आपतकाल घोषणा गरेको १४ दिनभित्र संसदले पारित गर्नुपर्ने व्यवस्था अनुसार मङ्गलबार संसद्‍मा मतदान गरिएको थियो।

यसअघि सोमबार विपक्षी सांसदहरुले आपतकाल घोषणा गर्नुपर्ने आवश्यकता नभएको बताएका थिए। २२५ सदस्यीय श्रीलंकाको संसदमा १५० भन्दा बढी सिट सत्तारुढ गठबन्धनको रहेको छ।