ग्लोबल आइएमई बैङ्कले आफ्ना कर्मचारीहरूलाई वर्षमा कम्तिमा पनि सात दिन आन्तरिक भ्रमण गर्न दिने भएको छ। बैङ्कले नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नको लागि कर्मचारीले वार्षिक तलबी बिदा लिने कर्मचारीहरुलाई कम्तिमा सात दिन आन्तरिक भ्रमण गर्नैपर्ने व्यवस्था थप गरेको हो।

बैङ्कमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा बस्दा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्नुपर्ने भएको छ। विश्वभर कोभिड -१९ ले चरणगत रुपमा महामारीको अवस्था लिएको र विदेशी पर्यटकहरुको आवागमनमा कमी आएको परिस्थितिलाई मध्यनजर गर्दै बैङ्कले यस्तो योजना ल्याएको हो। कोभिड-१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको र यस्तो परिस्थितिमा थौरै भएपनि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस भन्ने उद्देश्यले वार्षिक तलबी बिदा लिने कर्मचारीले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको बैङ्कले जनाएको छ।

बैङ्कमा हाल ३ हजारभन्दाबढी कर्मचारी कार्यरत छन् । हाल बैङ्कले बैङ्किङ् सेवाको पहुँच ७ वटै प्रदेश तथा ७६ जिल्लामा कूल २ सय ७३ शाखा, २ सय ४८ एटीएम, २ सय ५७ शाखा रहित बैङ्किङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दाबढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। बैङ्कले २३ लाख भन्दाबढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ।

त्यस्तै, बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।