फाइल तस्विर

सिन्धुली। कागति खेतिलाई व्यवसायिक गरेर स्थानीयको जीवन परिवर्तन गर्ने लक्ष्य रहेको वडा अध्यक्ष राम तामाङले बताएका छन्। कमलामाई नगरपालिका वडा नं. ११ का अध्यक्ष तामाङले स्थानीयहरूले परम्परागत रुपमा गरेको कागति खेतिबाट पनि मनग्य आम्दानी लिँदै आएकाले उक्त खेतिलाई व्यवसायिक बनाउने तयारि थालिएको बताए।

कमलामाई नगरपालिका वडा नं. ११ मा कागति खेतिको लागि सम्भाव्यता राम्रो रहेकाले नगरपालिकाको कृषि शाखाको एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत उक्त वडालाई कागति खेतिको पकेट क्षेत्र घोषण गर्ने निर्णय गरेको छ। वडा अध्यक्ष तामाङका अनुसार उक्त क्षेत्रका कृषकले रोपेको एउटा, दुइटा बोटले पनि राम्रो आम्दानी लिएका छन्। बजारमा कागतिको माग वृद्धि भइरहेको छ। एउटा दाना कागतिको मुल्य बजारमा हाल १० रुपैयाँ रहेको पाइन्छ। बजारको माग अनुसार आधुनिक खेतिबाट कागति उत्पादन गरेर उक्त स्थानका कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने लक्ष्य लिएको तामाङको भनाई छ।

त्यसको लागि अघिल्लो साल एक समुहका २५ जना कृषकलाई ३ हजार कागतिको बिरुवा बाँडिसकेको छ। यस वर्ष भने वडाले नै कागतिको बिरुवा रोप्नको लागि मेसिन ल्याएर खाल्डो खन्न थालेको वडा अध्यक्ष तामाङले बताए । यो वर्ष भने अन्य इच्छुक कृषकलाई पनि कागतिको बिरुवा बाँडिने र उक्त स्थानमा कागति खेतिको लागि हावा, पानी, जमिन मिलेको हुनाले कृषकलाई खेति गर्नको लागि प्रोत्हासन गरिने बताए।

कागति स्वास्थ्यको लागि फाइदाजनक रहेको चिकित्सकहरूले बताउँछन्। मानिसलाई दैनिक चाहिने भिटामिन सि को ३२ प्रतिशत कागति बाट प्राप्त हुन्छ।