काठमाडौं । आज (बधुबार) शेयरबजारमा ठूलो गिरावट आएको छ ।  धितोपत्र बोर्डले मंगलबार गरेको जोखिम कम्पनीहरुको नामावली सार्वजनिकपछिको दिनमा बजारमा उच्च गिरावट आएको हो । 

बजार खुले लगत्तै घट्न सुरु गरेकाे बजारमा ५२ अंकले घटेको छ । एक समय करिब ८० अंकले घटेको बजार केही अंक सुधार हुँदै २ हजार ९ सय ६९ विन्दुमा बन्द भएको छ । 

कारोबारमा आएका उपसमूहहरुमा माइक्रोफाइनान्सबाहेक सबै उपसमूहहरु घटेको छ । घट्ने उपसमूहहरुमा सबैभन्दा बढी फाइनान्स ६‍.८, होटल ५.१४, हाइड्रोपावर ४.७४, विकास बैंक ४.०३ रहेका छन् । 

उच्च गिरावटसँगै कूल पुँजीकरण पनि ३९ खर्ब ९० अर्बमा सिमित भएको छ । २ सय १९ कम्पनीहरुको शेयर कारोबार हुँदा २ करोड ८२ लाख ८९ हजार १ सय २८ कित्ता शेयर खरिद बिक्री भएको छ । कुल १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १९ रुपैयाँ बराबरको कारोबार १ लाख ६७ हजार ९ सय ३९ पटकको कारोबारमा भएको हो ।