फोन हातमा लिने बित्तिकै ‘फेसबुक’ खोल्न हतारिन्छु। केही समयदेखि ब्यूटी क्यामले खिचेको बुढाबुढीको फोटो छ फेसबुक प्रोफाईलमा। २-४ वटा नयाँ नोटिफिकेशन र केही नयाँ मेसेज आएको देखेँ। सन् २०१० तिर फेसबुक खोलेदेखि परिवार, नातागोता, चिनजानका नयाँ पुराना साथीहरूले फ्रेन्डलिष्ट भरिएको छ। स्क्रोल गर्दै सबैको पोस्टहरूमा सरर आँखा लगाउछुँ। उहाँहरुले संसारभरको कुना-कुनाबाट आफ्नो विचार, मन परेको सबै खाले चिजको फोटो वा भिडियो र नितान्त  व्यक्तिगत कुराहरू पनि पोख्नु भएछ। शुरू-शुरूमा जस्तो सबैको हरेक पोस्टलाई प्रतिक्रिया दिन छोडेको छु। 

त्यसपछि नोटिफिकेसन खोल्छु। २-३ सय साथीमा कसै न कसैको जन्मदिन पर्ने नै गयो। खुसूक्क मेसेन्जरमा शुभकामना पठाउँछु। अहिले त नातिनातिनी पनि छन्। उनीहरुको मन लोभ्याउने फोटो र भिडियो छ भने कमेन्ट गर्छु। त्यो बाहेक कुनै समाचारको शीर्षकले तान्यो भने खोलेर पढ्छु। मलाई राम्रो लाग्यो भने त्यसलाई शेयर गरेर, मलाई यो कुरा सही लाग्यो त्यसैले यस्तो महत्वपूर्ण कुरा सबैले एक पटक पढ्नै पर्छ भन्ने जनाउछुँ। जेजस्तो समाचारलाई पनि गाली गर्नेको कमी हुँदैन सामाजिक सञ्जालमा आजकल। धेरैले यस्तै नाटकीय शैलीले ध्यान आकर्षण गरेर समय काट्छन्। त्यसैले कमेन्टमा यसो आफ्नो भावना पोख्यो भने चिन्ने नचिन्ने जो कसैले म कस्तो सोच भएको मान्छे रहेछु? कसरी यस्तो कुरालाई सहमती जनाएको भनेर चेतावनी दिन समेत पछि पर्दैनन्। यसमा रमाउनको लागि मैले पनि विशेष शब्दको प्रयोग गरेर उतिक्कै जाँगर चलाई उत्तर प्रतिउत्तर दिने समय मिलाउनु पर्योै। 

तर, चालीस लागेपछि कसैले मन छोएको पल, खुशीले उत्ताउलिएको दिन साथै आँखाले सुख र दुःखको साथ दिई झारेको आँशु जस्तो कुरा सम्झिएर बस्न मन लाग्छ। त्यसैले बितेका दिनहरूलाई सङ्गालेर राख्ने यो फेसबुक अति प्रिय एप हो मेरो। हुन त यहाँ ज्ञानगुनका कुरादेखि व्यापार भनौँ साथसाथै मनोरञ्जनका हरेक कुरा पनि पाईन्छन्। त्यही पनि म भने आफुले बुझ्ने र मनले खाने खालको विषयवस्तु मात्रै हेर्छु।

नोटिफिकेसन हेर्दै जाँदा एउटा चिनेजानेको नामको फ्रेन्ड रिक्वेस्ट आएको रहेछ। समय मिलाएर मैले पनि आफ्नो स्कूलको साथीहरु को कता/कहाँ पुगेछन् खोजी-खोजी हेर्थें। आज स्कूलको एकजना साथीले फ्रेण्ड रिक्वेस्ट पठाएको रहेछ। उसको नाम देख्ने बित्तिकै फ्रेन्ड रिक्वेस्ट स्वीकार गरी हालें। अनि तुरुन्तै मेसेज गरेँ, 

म: ‘हल्लो’।
उसको जवाफ: ‘हाई’
मन पहिलाको दिनहरुमा पुगेर खलबली मच्चिन थाल्यो। हामी एउटै स्कुल पढ्थ्यौँ र त्यतिबेला उमेरले १४-१५ का मात्रै थियौँ। सोच्न थालेँ, अहिले उ कस्तो भयो होला? पहिलाको जस्तै छ की झनै राम्रो भयो होला? उसको स्वरले उस्तै मन लोभ्याउने छ की? एकपटक उसको स्वर सुन्न पाए हुन्थ्यो। कुरा अघि बढाउन मैले सोधेँ
म: अहिले कता? के छ? 

जवाफ आएन, शायद काममा ब्यस्त भएर होला सोचेँ। उसको प्रोफाइलमा गएर फोटो हेर्न थालेँ। छोरा-छोरीको बाबु भइसकेको रहेछ दिपेन्द्र। लामो समयपछिको अनलाइन भेटघाटमा एउटै बेञ्चमा बस्ने साथीसँग पनि कहाँबाट कुरा शुरू गरौँ भन्ने अलमल हून्छ। त्यसैले मैले कुरा छोट्याउन ‘अहिले काममा छौ होला तिमी।’ भनेर कुरा टुङ्ग्याउन खोजेँ मैले। फेरी कुनै दिन कुरा गरौँला भन्न लागेको, ‘हैन हैन,मलाई १ मिनेट देउ न! अनि कुरा गरौँ।’ उसले रोक्यो। 

मनमा कतै लुकेको नाम र अनुहार थियो, त्यसैले म पनि रोकिएँ। हामी स्कुल पढ्दा म उसँग धेरै सपना सजाउँथें। आफैँ रमाउथेँ। तर बाटोमा उसलाई देख्दा भने बाटो काटेर भाग्थेँ। एकचोटि छड्के नजरले हेर्थेँ अनि उ कटेपछि एकचोटि फर्केर हेर्थें। न मेरो नजरले, न त मैले उसलाई केही भन्न नै सक्दिनथेँ। कसैले उसको नाम बोलाउँदा मेरो मुटुको ढुकढुकी बढ्थ्यो। साथीहरुले उसको कुरा गर्दा मात्रै पनि लाजले निहुरिएर केही खोज्ने बहाना गर्थेँ। मनमा उसलाई बन्द गरेर राखेको थिएँ। मेरो उसँगको आफ्नै दुनियाँ थियो। मेरो लागि उ बाहेक अरुसँग आफ्नो नाम जोडिनु पाप गरे जस्तै लाग्थ्यो। मनभरि उप्रति मात्रै यति धेरै माया थियो। उसलाई मैले मनमनै आफ्नो सबै सुम्पिसकेको थिएँ। मेरो बाँकी जिन्दगी उसकै लागि मात्र हो भनेर ढुक्क थिएँ।

एकछिन् पछि म्यासेज आयो 
उ: ‘सरी’, ‘के छ? तिम्रो सुनाउ’
म: ‘मेरो ठिकै छ, तिमी काममा हो ?’ मैले अपठ्यारो लागेर सोधे।
उ: ‘हो, तर ठिकै छ। एकछिन् फ्रि हो, कति वर्ष भयो? २०-२५ वर्ष? स्कूलबाट निस्के पछि भेट हुन सकेन।’ उसले पनि पुरानो कुरा निकाल्यो।
म: ‘हो नी।’ पहिलाको दिन सम्झँदै भने। उहिले यो मान्छे नपाए मर्छु होला जस्तो लाग्थ्यो तर बाँचिदो रहेछ। मैले थामिदै सोधेँ, 
म: ‘के छ त? सुनाउ तिम्रो ?
उ: ‘मेरो सबै ठीक छ, काममा आउ, जाऊ। फ्यामिलीमा छोराछोरी छन्। जीन्दगी चलेको छ।’
उसले एकै चोटिमा सबै सक्यो। ‘बोल्न मिल्छ?’, मलाई उसको स्वर सुन्न मन लागेको थाहा पाए झैं सोध्यो।
म: ‘मिल्छ नी।’, अघिदेखि सोचेको कुरा भएकोले तुरून्तै कल गरेँ।
उ: ‘हेलो!’, उसको आवाज सुन्ने बित्तिक्कै मनमा पहिलाको जस्तै आकर्षण पैदा भयो। उही म्यानलि भ्वाइस जसको म साह्रै फिदा थिएँ।
म: ‘हेलो दिपेन्द्र !’, मैले एकैछिन रोकिएर बोले।
उ: ‘कहाँ छौ तिमी?’
म: ‘म काठमाडौँ छुँ। तिमी पो विदेशियौ।’, यत्तिका सालपछि बोल्ने बित्तिक्कै मैले उ टाढिएको दोष लगाई हालेँ।
उ: ‘अँ यस्तै भयो। अनि तिम्रो फ्यामिली?’
म: ‘तीन वटा छोरी छन्। श्रीमान् रिटायर्ड।’, मलाई भने उसको बारेमा जान्न मन थियो।
उ: ‘तिमी के गर्छौ त?’ मेरो नटुङ्गिदै उसले सोध्यो।
म: ‘आफु त हाउसवाइफ हो हेर।’ यति बोलेसम्म मलाई भने उसको अनुहार हेर्न हतार भैसकेको थियो। पहिला लुकीलुकी हेरेको दिनहरू समझेर भने, ‘तिमीलाई हेर्न मन लागेको छ।’
उ: ‘हो र! म अहिले अफिसमा हो।’, उसले मलाई टार्न खोज्यो। आज बल्ल भेट भएको कसरी मेरो मन थाम्न सक्नु मैले, जिद्दी गर्न थालेँ। 
म: ‘एक मिनेट मात्रै प्लिज। तिम्रो धेरै टाइम लिन्न म।’, यो सुनेर उ हाँस्न थाल्यो। उसको हाँसोले झन् आफूलाई रोक्नै सकिन अनि बिन्ती नै गर्न थालेँ।
म: ‘एकैछिन् क्यामरा अन गरन प्लिज! म कोठामा एक्लै हो। ’मन अत्तालिदै आफू अगाडिको ऐना हेर्दै कपाल मिलाएँ। उ भने चुप लागेर सुनि बस्यो। ‘धेरै पछि भेट्यौँ हामी। मेरो बूढा पनि घर छैन। म महिनावारी भएकोले छोरी भान्सामा खाना बनाउँदै छन्। तिमी कस्तो भयो भनेर हेर्न मन लाग्यो।’ भन्दै भिडियो कल गरें। उसले कल एसेप्ट गर्योक अनि स्क्रिनमा उसको अनुहार।
उ: ‘ओ हो! तिमी त कत्ती चेन्ज भएछौ। बाटोमा भेटेको भए नचिन्ने रैछु मैले।’ उ बोल्दै गयो।उसको स्वर र हाउभाउले मेरो मन तानी हाल्यो। म भने एकहोरिएर उसको जुँगाको रेखिमात्रै बसेको अनुहारसँग अहिलेको अलिअलि फुलेको जुँगादाह्री भएको अनुहार दाँज्न थालेँ।
उ: ‘के हेरेको यसरी? मलाई लाज लाग्यो।’ उसले क्यामेराको नजिक आएर मलाई जिस्कायो।
म: ‘तिमी पनि चेन्ज भएछौ।’, बल्ल मेरो बोली फूट्यो।
उ: ‘हो’ घडी हेर्दै उसले बिदा माग्यो। ‘हेर, मेरो काम छ। खुशी लाग्यो भेटेर। फेरी फेरी कुरा गरौंला।’
म: ‘मलाई पनि खुशी लाग्यो। बाई!’ भन्दै मैले लाजले तल्लो ओठ टोक्दै फोन टेबुलमा राखिदिएँ। 

अनि विस्तरामा पल्टिएँ। उसले दिल खोलेर हाँसेको सम्झेर सिरक गुट्मुटाएर कोल्टो परेँ। अनि क्यामेराको नजिक आएर हेरेको सम्झेर अझै मुट्ठीभरि सिरक कस्सेर समातेर कुप्रो परेँ। आजकाल सरम लाग्ने खालको मान्छे त हैन म तर पनि मेरो नजर झुक्यो। मलाई जति संकोच लाग्यो उत्ति नै मन पनि पर्योा। मैले माया गरेँ तर मन खोलेर माया देखाउन सकिनँ। पहिला उसँग एकशब्द बोलिन। उसलाई देख्दा मायाले र लाजले मेरो नजर झुक्थ्यो। मैले उसलाई कति मन पराउछुँ भन्ने उसले थाहा पायो भने मलाई के सोच्छ होला भनेर पिर पर्थ्यो। म जति उसले मलाई मन पराउँदैन कि भन्ने डर त छँदै थियो नै। 

उसको मुखबाट कुनै मन दुखाउने कुरा सुन्न र भोग्न नपरोस् भनेर म मनमनै उसलाई चाही रहन्थें। तर मेरो चोखो माया भएपनि उसलाई मतिर तानेर ल्याउन सकिन। एकदिन त उसले बुझ्छ होला भनेर बसेको दिन, हप्ता, महिना र वर्ष बित्यो। त्यहि पनि मैले धेरै पर्खेरै बसेँ। मनमनै उसँगै उत्तिक्कै नजिक हुन्थेँ भने भेटमा सकेसम्म टाढा। पछि समय र परिस्थितिले हामी साँच्चिकै धेरै टाढा भयौँ। एक्लै भेटेर आँखा जुधाउन नपाई र एकअर्कासँग नाम जोडिन नपाई। 

मनमनै भने, ‘पहिला पनि मैले नै तिमीलाई चाहें। तिमी त आफ्नै दुनियाँमा थियौ अन्जान। अहिले पनि तिमी कतै छौ र तिम्रो आफ्नै संसार छ। तर, मेरो तिमी, आज मेरै छेउमा छौ। म भन्छु, तिमी मेरै हौ। त्यसैले मैले अब मेरै तिमी बनाउने छु। तिमीले चालै नपाई मेरो छेउ आइपुग्ने छौ। मैले धेरै-धेरै माया गरेको मेरो तिमी, मैले भने जस्तै मेरो तिमी।’ मेरो मायाको संसार आज फेरी जग्मगाउन थाल्यो। पहिला जस्तै मैले केही नभनी तिमीले थाहै नपाई र हामीबीच केही कुरा नभई। आज म धेरै खुशी छु। मैले तिमीसँग मायामात्र पो साट्न लेखेको रहेछ यो जुनी। आनन्दको लामो सास फेरेँ।

‘हैन सुतेको?’ भनेर उसले बोलाउदा पो म झस्किएँ, ‘छैन’, म उठेर टोइलेट गएँ। उ कतिखेर आएछ भन्ने पनि मैले थाहै पाईन छु। ऐनामा हेरेर, ‘के पो सोच्न थालेँ?’ भन्दै आफ्नै टाउकोमा हाने। अनि मुख धोएर निस्केर हेरेँ, मेरो आफ्नो घर संसार। कतै टाढा गएर भर्खरै घर आईपुगे जस्तै बुढालाई र नानीहरुलाई पालैपालो हेरेँ। कसरी एकैछिनमा यीनीहरु सबैलाई बिर्सेँ मैले? यसरी पो मन बद्लिने रैछ अरुको पनि थाहै नपाई, बल्ल बुझेँ।

कोठामा गएर फोन उठाए अनि फेसबुकमा गएर उसको प्रोफाईल खोलेर फ्रेन्ड्समा क्लिक गरेँ। अनफलो गरेँ। उसको अनलाईन उपस्थिति जरुरी लागेन। लुकीलुकी हेर्ने बानी परेको मान्छे फेसबुकमा पनि लुक्ने नै विचार गरेँ। फोन स्विच अफ गरेर कोठाबाट बाहिर निस्केँ।