काठमाडौं। नेपाल टेलिकमको भीओएलटीई सेवा आइफोनमा पनि सुरु भएको छ। यसअघि स्यामसुङ लगायत केही ब्रान्डका मोबाइलमा मात्र उक्त सेवा उपलब्ध रहेकोमा आइफोन प्रयोगकर्ताले पनि यस्तो सेवा लिनसक्ने कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारी जानकारी दिएका छन्।

भीओएलटीई सेवा मार्फत चौथो पुस्ताको फोरजी/एलटीई प्रविधिमा आधारित उच्च गुणस्तरको भ्वाइस सेवा प्रयोग गर्न सकिन्छ। भीओएलटीई सेवामा कलमै आधारित भिडियो कल गर्न सकिने सुविधा पनि उपलब्ध छ।

टेलिकमले गत जेठ ३ गते टेलिकमले भीओएलटीई सेवाको परीक्षण सुरुवात गरेको थियो। त्यतिबेला निश्चित ब्रान्डका सीमित मोडलमा मात्र उपलब्ध यो सुविधा क्रमशः अहिले अन्य मोडलमा पनि विस्तारित हुँदै गएको कम्पनीले जनाएको छ।

सेवा सुरुवात हुँदा आइफोनमा प्रयोग गर्न नमिल्ने भएपछि टेलिकमले एप्पल इन्कर्पोरेसनलाई इमेल गरेर यो सुविधा प्रयोग गर्न मिल्ने बनाउन आग्रह गरेको थियो । टेलिकमको आग्रहको आधारमा छोटो समयमै आइफोनमा पनि यो सुविधा प्रयोग गर्न सकिने भएको हो । ग्रामीण क्षेत्रमा ठूलो क्षेत्रमा सेवाको पहुँच हुने भएकाले यसबाट देशैभरका ग्राहक लाभान्वित हुनसक्ने कम्पनीले जनाएको छ।(गोरखापत्र)

यो पनि पढ्नुहोस्:

नेपाल टेलिकमको भिओएलटीई सेवा परीक्षण आजबाट शुरु