सिन्धुली। सिन्धुली सौगात लघु उद्यम सहकारीद्वारा कोभिड -१९ सङ्क्रमित बिरामीलाई ४० किलोग्राम सर्वोत्तम सातु प्रदान गरेको छ। आज सिन्धुली सौगात लघु उद्यम सहकारी संस्थाका शेयरधनीहरूले सिन्धुली कोभिड अस्पतालका बिरामीहरूका लागि सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद पोख्रेललाई सर्वोत्तम सातु प्रदान गरेको हो ।
सिन्धुली सौगात लघु उद्यम सहकारी संस्था सिन्धुलीका अध्यक्ष बिमला थापाका अनुसार विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको दोस्रो लहर नयाँ भेरिएन्ट सहितको सङ्क्रमित सिन्धुली कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीलाई २ भाग अन्न र २ भाग गेडागुडी मिसाएर बनाइएको शुद्ध सर्वोत्तम सातु ४० किलोग्राम प्रदान गरेको जनाइएको छ।
कोभिडका बिरामीहरूको आत्मबल बढाउन तथा शरीरलाई थप उर्जा प्रदान होस् भन्ने उदेश्यले सहकारीद्वारा आफ्नै संस्थामा उत्पादन गरिएको शुद्ध सातु प्रदान गरिएको अध्यक्ष थापाले बताइन्। सिन्धुली सौगात लघु उद्यमले स्थानीय खाद्य सामाग्री उत्पादन गर्दै आएको छ र उक्त सहकारीले स्थानीय उत्पादन केराको मम, चकलेट, आलुको पकौडा साथै बाँसका मुडा, परालको चप्पल लगाायतका सामाग्रीको उत्पादन गर्ने गरेको छ।
