-अमरदिप सुनुवार

नेपालमा विश्वव्यापी महामारी कोभिड -१९ ले चरम मानवीय स्वास्थ्य सङ्कट ल्याएको छ । यसको संक्रमण दर तिब्र हुनु र संक्रमितहरूको मृत्युदर पनि उच्च भएकोले विद्यमान स्वास्थ्य प्रणालीले थेग्न सकेको छैन । संक्रमितहरूको उपचारका लागि अस्पतालमा बेड, आई ‌सी यू र भेन्टिलेटरको चरम अभाव खड्किएको छ । संक्रमितहरूले उपचारका लागि पर्याप्त अक्सिजन समेत प्राप्त गर्न नसकेको महामारीले आक्रान्त यस विषम परिस्थितिमा कोभिड -१९ महामारीसँग जुध्न अक्सिजन व्यवस्थापनमा अर्जुनदृष्टि लगाएर अहोरात्र खटिनुको विकल्प छैन। 

कोभिड -१९ को गहिरिदो असरको समयमा संक्रमितहरूको उपचारका लागि आवश्यक प्राणवायू अक्सिजनको व्यवस्थापनमा सरोकारवालाहरू परिचालित हुनुपर्ने बेला आएको छ। सामान्य अवस्थाको बजारमा अक्सिजनको आवश्यक माग बमोजिमको आपूर्ति श्रृङ्खलाले कोभिड -१९ संक्रमित बिरामीहरूको उपचारका लागि पर्याप्त हुन सकेन । यो अवस्थामा कोभिड -१९ सिर्जित कटु स्वास्थ्य सङ्कटलाई सामना गर्न कुनै पक्षले अर्को पक्षलाई गालि गरेर हैन रचनात्मक सुरुवात गर्न ढिलाई गर्न हुँदैन । यसमा भए गरेका त्रुटी तथा गल्तिको समिक्षा गर्न ढिलो भएको छैन बरु प्राणवायू अक्सिजनको अभावमा छट्पटाईरहेका बिरामीहरूको उपचारमा अक्सिजनको सहज आपूर्ति व्यवस्थापन गर्न ढिलाई भइसकेको छ ।

अक्सिजन आपूर्ति प्रणालीमा सहजता ल्याउन सरकारले एकद्वार नीति अवलम्बन गरीसकेको छ । कोभिड -१९ का बिरामीहरूको उपचारमा प्रभावकारीता बढाउन अक्सिजन नियमन केन्द्रीय तहबाट भइरहेको छ । नेपाल सरकारका उपप्रधानमन्त्रीज्यूको संयोजकत्वमा गठित केन्द्रीय कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्रद्वारा अक्सिजन कोटा प्रणाली तोकिए बमोजिम भएको छ । यस कार्यमा अझ सहजिकरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गृहकार्य थालेको पाइन्छ । यस मानवीय सङ्कटको घडीमा अक्सिजन सहज आपूर्ति प्रणाली स्थापित हुने गरी बिरामीहरूको उपचार प्रभावकारी बनाउन शिघ्रातिशिघ्र अक्सिजन उत्पादन बढाउने, देशबाहिरबाट अक्सिजन आयात गर्ने र अक्सिजन व्यबस्थापन प्रणालीमा रहेका कमजोरीहरू निवारण गर्नु वाञ्छनिय हुन्छ । 

कोभिड -१९ सँगको महायुद्ध लड्न उपचार पद्दतिमा आवश्यक अक्सिजन व्यवस्थापन गर्न सरकारले निजी अस्पतालहरूलाई पन्ध्र दिनभित्र अक्सिजन प्लान्ट निर्माण गर्न निर्देशन दिइसकेको छ । यसमा पनि सम्भाव्यता छ/छैन भन्ने तर्फबाट उठान भएको देखिन्छ तर यो समय सम्भव भएसम्म अक्सिजन प्लान्ट जडान गर्ने पनि हो । र अक्सिजन उत्पादन गर्ने पूर्वाधार निर्माणमा तदारुकताका साथ लाग्ने समय हो । अक्सिजन उत्पादन गुणात्मक रुपमा अभिवृद्धि गर्ने चुनौती पनि हो । कतिपय प्रतिष्ठित सरकारी तथा निजी अस्पतालमा समेत अक्सिजन उत्पादन प्लान्ट नहुनु बिडम्वना हो । 

अक्सिजन अभावको संवेदनशील विषयमा नेपाल सरकार तथा प्रदेश सरकारहरूले अक्सिजन उत्पादन पूर्वाधार निर्माणमा बजेट ब्यवस्थापन गर्नु प्रभावकारी कदम हुन्छ । केन्द्रीय स्तरका अस्पतालहरूमा नेपाल सरकार तथा प्रदेशस्तरीय अस्पतालहरूमा प्रदेश सरकारले अक्सिजन व्यवस्थापनको सम्भाव्य वैकल्पिक तरिकाहरू अपनाउनुपर्छ । अक्सिजन सहितका अत्यावस्यक स्वास्थ्य सामाग्री जुटाउन समन्वय, सहजिकरण र सहकार्यलाई मूर्तरुप दिनुपर्छ ।

विद्यमान स्वास्थ्य प्रणालीमा सञ्चालित सरकारी तथा निजी अस्पतालहरूले बजारबाटै अक्सिजन आपूर्ति गरेकाले पनि अक्सिजनको हाहाकार हुने अवस्था आयो । कोभिड -१९ संक्रमित बिरामीहरूको उपचारमा हाईफ्लो अक्सिजन प्रदान गर्नुपर्ने भएकाले बजारमा उपलब्ध अक्सिजनको उत्पादन न्यूनतम रुपमा तेब्बर बढाउनुपर्ने आवश्यकता देखिन्छ । विद्यमान अक्सिजनको न्यूनता पुरा गर्न अक्सिजन उत्पादक कम्पनीहरूले पनि विशेष पहल गर्नु जरुरी छ । यसका लागि अक्सिजन उत्पादकहरूले पूर्ण क्षमतामा अक्सिजन प्लान्ट सञ्चालान गर्ने, चौबिसै घण्टा प्लान्ट सञ्चालनमा ल्याउने र अक्सिजन प्लान्टमा खटिने जनशक्तिलाई प्रोत्साहनको व्यवस्था गर्नु उपयुक्त हुन्छ । 

कोभिड -१९ को दोस्रो लहरको सङ्कट नेपालमा गहिरिदै गएको सन्दर्भमा नेपाल सरकारले देशबाहिरबाट समेत अक्सिजन आयात गर्न मित्रराष्ट्रहरू तथा बहुपक्षीय विकास साझेदार निकायहरूसँग समन्वयका लागि विशेष पहल गर्नु वाञ्छनीय हुन्छ । साथै, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरूलाई पनि परिचालन गर्नु उपयुक्त हुन्छ । यसमा हालको न्यून अक्सिजन आपूर्तिलाई ध्यान दिएर अक्सिजन उत्पादन तथा आपूर्ति बढाउने कार्यलाई प्राथमिकतामा राख्नुपर्छ । खासगरी अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउने, अक्सिजन कन्सन्ट्रेटर ल्याउने तथा सिलिण्डर व्यवस्थापनमा जोड दिन सकिन्छ । 

अक्सिजन व्यबस्थापन चक्रमा नियमनकारी निकायले ब्यवस्थापकीय कमजोरी पहिचान गरेर त्यसको तत्काल समाधान गर्ने तदारुकता देखाउनुपर्छ । अर्कोतर्फ, अक्सिजन आपूर्तिकर्ताहरूले मानवीय स्वास्थ्य सङ्कटको समयमा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर अझ बढी संवेदनशील भएर बजार सञ्चालन गर्नुपर्दछ । 

नेपालमा कोभिड -१९ को संक्रमण चिन्ताजनक भएको विश्व स्वास्थ्य संगठनले समेत घोषणा गरीसकेको  छ । यस सन्दर्भमा नेपाल सरकारले कोभिड -१९ संक्रमणको सघन विश्लेषण गरेर उपयुक्त समयमै स्वास्थ्य सङ्कटकाल घोषणा गरी कोभिड -१९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारको सबै चरणहरूमा रणनीतिक व्यवस्थापन गर्नु आजको आवश्यकता हो।

- लेखक सुनुवार काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी हुन्।