मोटी घरको जस्केलाबाट फुत्त निस्की, कतै नहेरी घरको लाछीसँग जोडिएको गोठतिर गई । गोठछेउको बाटो हुँदै गहुँबारीतिर झरी । फागुनको पहिलो हप्ता चलिरहेछ । गहुँ पाक्न लागेको छ । मान्छे हिँडेको आवाजले चराहरू गहुँ चोर्न छोडेर भुर्र उडे ।
मैले एक्कासि जिस्क्याएँ, ‘ओइ मोटी ! किन एकोहोरिएकी < बोल्दिनस् त । मान्छे देख्नै छोडिस् है ।’ दायाँ–बाँया हेरी, मलाई देखिन । म सीधा माथि बारीको डिलमा थिएँ । उनीहरूको घरको छानोले हाम्रो बारीको किम्बुको रूख छुन खोज्थ्यो । एउटा गोरेटो बाटोले छुट्याएको उनीहरूको घर र हाम्रो बारी । त्यही बारीको डिलमा काँटा तेस्र्याएर बसिरहेको थिएँ म ।
अन्त्यमा मेरो आवाज आएपट्टि हेरी । बोलूँ कि नबोलूँ हुँदै हिँड्न खोजी । हिँडिन, मतिर पुलुक्क हेरी । झट्ट आँखा अरूतिर हटाइहाली । सिक्रा हुन लाग्या पाती निमुन्ट्याई ।
उसको दोधारेपनले बित्थामा बोलाएछु भन्ने लाग्यो । मलाई नै खटपट भयो । सक्ने भए आफैँ त्यहाँबाट बिलाऊँ भएको थियो । सकिनँ, केही गर्न सकिनँ । फेरि आफैँ बोलाइदिएँ, ‘के भो मोटी < पानी लिएर आइज न । एकछिन बिसाऔँला, गफ गरौँला ।’ उसको दोधारेपन, छटपटी बिर्साउन खोजेँ । ‘नकरा चिम्से, मेरो काम छैन < तँलाई पानी दिन्छु !’ भन्दै घरतिर फर्किई ।
ऊ हाम्रै छिमेकी । गुरुङ्की छोरी कान्छी । गाउँले साइनोमा उनको बाउलाई काका भन्थे । ऊ मेरै दामली थिई । तीन–चार महिनाले कान्छी मभन्दा । काली–काली, मभन्दा अलि अग्ली, ठिक्ककी मोटी छे । अलि–अलि नक्कली पनि । ऊ मेरो स्कुल, घाँस, दाउरा जाँदाको साथी । म मोटी भन्थेँ, ऊ मलाई चिम्से भन्थी । दिदी भन्नुहुन्छ, ‘तेरो आँखा केराको पातमा सिन्काले चिरेजस्तो । म खाँटी राईको छोरो ।’
कथाकार : सुवास राई “बाङ्देल”
तेरो म को हुँ र भन्ने सङ्केत दिएर भित्र छिरेकी थिई । हरियो प्लास्टिक जगमा पानी र सिसाको गिलास बोकेर आई । पहिले बाटोबाट जग र ग्लास थमाई । अनि हात दिई । मैले सानो लट्ठीले सिस्नोमा हिर्काएर चुँडिएको सिस्नोको मुन्टा तेस्र्याएँ । ऊ रिसले भनक्क भई । ‘अब मरिस्’ भन्दै ढुङ्गो टिपी । मैले सरेन्डर गरिहालेँ । ‘ओइ, भो लु आइज,’ मैले हातले फुत्त तानेँ । ऊ माथि आई । लुगा टकटकाउन लागी ।
‘बस् भनूँ पिरा छैन,’ मैले जिस्क्याएँ । आँखा तर्दै हेरी, बोली भुइँमा नझरी जवाफ फर्काई, ‘तैँले बस् भन्नै पर्दैन ।’
म्याजिक चप्पल फुकाली र आफू सकेसम्म सानो बनेर सपक्क बसी ।
‘तँ पानी खान्नस् ?’ आलु कोट्याउँदै बोली, ‘खान्नँ, तँ खा ।’ ‘तेरो सुनको गिलास तँै बोक्’ भनी गिलास फिर्ता दिएँ । जगबाट नै ठाडो घाँटी पारेर घुटघुट पिएँ । ‘गोरुलाई नुन ल्याउन बिर्सेछु । साह्रै तिर्खाएको पो रहेछ,’ नमिठो जिस्क्याई ।
‘काम हेर् न काम । कति खनेको छु आलु,’ भरिन लागेको डोको र झकभरिको आलु देखाएँ । ‘नापिस्, यत्रो समयसम्म खनेको,’ लोप्पा नि खुवाई दुई हातले नै ।
‘तँलाई एक साल पुग्छ मोटी, लिएर जा, छुट्टिएर बस् । तेरो ज्यान नि चिटिक्कको बन्छ ।’ ‘तेरो आलु तैँ लैजा, चाहिया छैन । हिरोनी हुनुप¥या छैन ।’ अघिको आलुले टाउको ताकेर हानी ।
यो २४ सालसम्म कहिल्यै ऊ यस्ती थिइन । कदापि थिइन । बिल्कुल फरक सपना गुरुङ थिई आज । चल्थी मसँग, तर उति नै लाज हुन्थ्यो । उत्तर उत्ति नै छिटो दिन्थी, तर ठट्टा नि गज्जब गर्ने । त्यो हाँसो–मुस्कान गायब थियो । त्यो नारी स्वभाव हराएको थियो, सातो हराएझैँ थिई आजभोलि । सधैँ पनि यस्तो नै हो कुरा गर्ने तरिका, तर भावभङ्गिमा फरक थियो ।
सबै प्रसङ्ग मोडेर सोधेँ, ‘मोटी, तँलाई के भयो < तँ यस्ती त थिइनस् ।’ ‘म जस्तो भए नि तँलाई के मतलब <’ घोप्टेर बोली । सानो सिन्काले भुइँमा धुलो सम्याउँदै खेल्न थाली ।
‘हेर् मोटी, आफूले लेख्ने कलमले त लेखेन भने मसी सकियो कि बिग्रियो कि भनेर खोलखाल गरिन्छ, सफा गरिन्छ । तँ त मेरी साथी पो त । काकाकी छोरी, छिमेकी पनि, मेरी बहिनी,’ यस्तै साइनो तेस्र्याएँ । सायद बहिनी पहिलोपल्ट भनेँ हुँला आजसम्ममा । ऊ मेरा लागि मोटी नै थिई जहिल्यै ।
‘तँलाई भनेर के हुन्छ <’ अनेक आकारका चित्र कोरिरही । मैले केही भेउ नै पाइनँ, त्यसमा । उसको मनको पीडा हुँदो हो । दुःख–वेदना चित्रबाट बताएकी हुँदी हो । आफ्नो कल्पना, सपना पोखिरही मिहिन माटोमा । भर्खर खनेको आलुबारीमा ।
मैले सानो ढुङ्गो टिपेर उसको छेउ हिँड्दै गरेको फट्याङ्ग्रालाई निसाना ताकेर हानेँ । ढुङ्गो ठूलो भए पो < पखेटामा लाउँदा पनि केही भएन । दुई जम्प लगायो, डिलको सिस्नोघारीमा अल्पिगयो ।
दुवैतिर मौनता छायो । ‘पिनड्रप साइलेन्स’ यसलाई भन्छन् क्यार । ‘जा म आलु खन्छु’ भन्न मन लाग्यो, तर भन्न सकिनँ । ‘तेरो नखरा नदेखा’ भन्न मन लाग्यो, फेरि पनि साइलेन्सको समय बढ्यो । मलाई के भनूँ, कसो गरूँ भयो । सोच्दासोच्दै मुखबाट निस्किहालेछ, ‘जङ्गलीले भेट्यो कि के हो < घरीघरी किन बहुलाकी < घरमा नि सब ठीक छ < काका मसँगै त झरेको, गफ गरेर । केही बिग्रँदो–बित्तो छैन । रोग–व्याधि छैन । दाजुहरू विदेश छन् । रिजल्ट बिग्रियो भनूँ, १२ सकेर पढिनस् । के पुगेन अब, र नौटङ्की गरेकी भन् त, म तेरो साथी होइन < कि म चाहिँ बुझ्दिनँ यस्तो कुरा <’ पेट निचरेको पेस्टझँै निस्कियो एकैचोटि ब्रसमाथि ।
के भयो कुन्नि, आँखा जुधाएर हेरी । कस्तो रहस्यमयी ‘आई कन्ट्याक्ट’ थियो त्यो । त्यो एक पित्को पेस्टमा के भेटी कुन्नि खोइ < आशापूर्ण नजर तेस्र्याई । भरोसामा घरीघरी आँखा जुधाएर हेरिरही । झिमझिम गर्दागर्दै आँसु छचल्कियो ।
त्यतिबेला याद गरेँ । नक्कलीले आँखाभरि गाजल लगाएकी रहिछ । उसले पक्कै ती मनका पीर, वेदना र पीडाहरू आँधी–तुफान बनेर आँखाबाट नबर्सिऊन् भनेर छेकबार गरेकी हो । बाँध बाँधेकी हुँदी हो । आशाका मुहानबाट सपनाहरू–चाहनाहरू नबगून् भनेर । तर, बाँधले छेक्नै सकेन । त्यति ठूलो भेल–बाढी कहाँ थेग्न सक्थ्यो र < लतपत लतपत हुँदै बाँध तोडेर आँसु नाकको छेउ हुँदै डिम्पलछेउ पुग्यो, रोकियो । सायद आँधी कम भयो, सुनामी मत्थर भयो । ऊ पनि अलि चम्किली थिई ।
ऊ मतिर घुँडा टेकेर हेर्न थाली । बोली बिस्तारै, ‘हो सब ठीक छ । सामान्य चलेकै छ । आफ्ना सपना, चाहना पूरा भएकै छन् । म तँलाई हेर्दा यसै तरिकाले सुखी, खुसी देख्छु । तँ मलाई देख्छस् । मेरा वा मलाई सबै सिकाउँछन्, बुझाउँछन् । हामीलाई सुख होस् भनी केही कसर बाँकी छोड्दैनन् । हरपल खुसी देखिन्छन् । अरूले पनि देख्ने त यही हो नि । तँलाई पनि त थाहा छ, आफ्नो जीवन प्रत्येक सकेन्ड आफैँले जिएर बिताउनुपर्छ । समग्रता र सारांशमा त बाँचिन्न ।’
सत्य बोली उसले, उस्तै गम्भीर शैलीमा । मैले के बोलेँ, सब बिर्सेँ । म ट्वाँ परेँ एकछिन । ‘अनि के भयो त <’ ‘एउटै कारण छ ।’ घुँडा टेकेकी थिई, अब घुँडामा हात राख्दै भनी । ‘के कारण < कस्तो कारण < भन् न त । मैले समाधान गर्न सक्ने भए गरिदिउँला ।’
‘समाधान नै तैँले गर्छस् । तँलाई नभनेर कसलाई भन्नु <’ ऊ उत्ताउली र अलि चम्किली थिई । अझै अन्जान म । ‘सानो भए अहिले गरिदिउँला । ठूलो भए अरू सबैसँग सोधेर खोजेर हेरौँला । मोटी, चिन्ता नगर्,’ खुट्टा तेस्र्याउँदै आशा देखाएँ ।
‘सानै छ,’ खुतुतु हाँसी । डिम्पलसम्म झेरेर सुकेको गाजलसहितको आँसुको धर्कासँग हाँसो पटक्कै सुहाएन ।
‘भन् न त,’ मैले उत्सुकता देखाएँ ।
‘साँच्चै भनूँ, साँच्ची नै,’ जिस्किँदै भनी ।
‘उम् भन् न,’ अनुमति दिएँ ।
‘सुन् चिम्से,’ मेरो टिसर्टको कलर समाती । झन्डै मेरो थेप्चो नाकसँग उसको नाक जोडी । उसका लामा–लामा श्वास महसुस गर्दै सुन्दै थिएँ । बोल्दै थिई, ‘किन–किन हिजोआज तँलाई देखिनँ भने बेचैन हुन्छु । पागल हुन्छु । हरपल तेरै याद आउँछ । सपना–विपनामा तँ नै हुन्छस् । साँच्चै भनूँ, म तँलाई मन पराउँछु । तँलाई चाहन्छु ।’
आँखाहरू जुधिरहे । आँखाहरू बोल्छन् भन्थे हो जस्तै लाग्यो । एकै झट्कामा टिसर्टको कलर छोडी । सिसाको गिलास र हरियो जग टिपी । जुरुक्क उठी, म्याजिक चप्पल खुट्टामा घुसारी । घटघट पानी पिई, ठाडो घाँटी पारेर । मैले जस्तै गरी । मतिर हेर्दै बोली, ‘चिम्से आई लभ यु ।’
उस्तै तेज डिलबाट झरी अलप भई पलभरमै । म सर्पले डसेको मुसाझैँ भएँ । छटपट छटपट भयो । म बसेकै ठाउँमा नै उत्तानो परेँ । घाम आँखैमा प¥यो ।
तेरो प्रेमको परिभाषा के हो ?
मलाई थाहा छैन
तँ प्रेमलाई कसरी र कति सीमाङ्कन गर्छेस्
त्यो पनि थाहा छैन
एभरेज केटाकेटीले झैँ
एक–अर्कालाई मन पराउनु माया भन्छेस् भने
कसम ! मोटी
मायाको नाम दिएर मायालाई बदनाम नगर् ।